दसैँ–तिहारमा डिजिटल ठगीबाट सतर्क रहन राष्ट्र बैङ्कको आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दसैँ र तिहारको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन सर्वसाधारण प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ ।
चाडपर्वका बेला बैङ्क तथा वित्तीय संस्थाका सेवा सीमित हुने अवस्थाको फाइदा उठाउँदै डिजिटल ठगी गर्नेहरू सक्रिय हुन सक्ने भन्दै बैङ्कले वित्तीय चेतनामूलक सन्देश जारी गरेको हो ।
राष्ट्र बैङ्कको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले २०८३ कात्तिक ३ गते जारी गरेको सन्देशमा दसैँ अफर, उपहार वा बोनसको प्रलोभन देखाएर पठाइएका अपरिचित लिङ्क नखोल्न आग्रह गरिएको छ ।
मोबाइल बैङ्किङ वा बैङ्क खाता अवरुद्ध भएको भन्दै फोन वा सन्देश आएमा त्यसको सत्यता पुष्टि नगरी विश्वास नगर्न र शङ्कास्पद लिङ्कमा क्लिक नगर्न पनि बैङ्कले सुझाव दिएको छ ।
बैङ्कले आफ्नो बैङ्क खाताको सुरक्षा कायम राख्न ओटिपी (ओटीपी), प्रयोगकर्ता नाम, पासवर्ड तथा पिन कोडजस्ता गोप्य विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ । बैङ्कले फोन गरेर यस्ता गोप्य विवरण नमाग्ने भएकाले त्यस्तो विवरण माग्ने व्यक्तिप्रति सचेत रहनु पनि सन्देश मार्फत सचेत गराएको छ ।
त्यसैगरी, राष्ट्र बैकले क्यूआर कोडमार्फत भुक्तानी गर्ने र पैसा प्राप्त गर्ने प्रक्रियाबीचको भिन्नता बुझ्नुपर्ने भन्दै कसैले पैसा पठाइदिने बहानामा क्यूआर कोड स्क्यान गर्न र पिन नम्बर राख्न लगाएमा त्यसप्रति सतर्क रहन समेत सुझाव दिएको छ ।
डिजिटल ठगीमा परेमा वा शङ्कास्पद गतिविधि देखिएमा तुरुन्तै सम्बन्धित बैङ्कको २४ सै घण्टा उपलब्ध ग्राहक सेवा वा नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्