तपाईँ सुन्दै हुनुहुन्छः

जीर्ण भवनमा प्रहरी : नागरिकको सुरक्षा गर्ने सुरक्षाकर्मी आफैँ जोखिममा

बाँके। नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका प्रहरी आफैँ जीर्ण र असुरक्षित भवनमा बसेर सेवा दिन बाध्य छन् । चौबीसै घण्टा नागरिकको सुरक्षामा खटिने प्रहरी कार्यालयका छाना चुहिने, पर्खाल चर्किने र छत अड्याउन बाँसको टेको लगाउनुपर्ने अवस्था छ । वर्षौँदेखि जोखिमपूर्ण संरचनामा बसेर सुरक्षा सेवा प्रदान गरिरहेका प्रहरीको अवस्थाले उनीहरूको कार्यस्थलको सुरक्षा र आधारभूत सुविधाप्रति राज्यको ध्यानबारे प्रश्न उठाएको छ ।

बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाउँपालिका–१, सुइयास्थित इलाका प्रहरी कार्यालय यसको एउटा उदाहरण हो । भारतीय सीमासँग जोडिएको यस क्षेत्रको प्रहरी कार्यालयको भवन यति जीर्ण छ कि पक्की छतको बिम अड्याउन बाँसको टेको लगाइएको छ । भित्तामा चिरा परेका छन् भने वर्षात्का बेला कोठाभित्र पानी चुहिन्छ । भवनका अधिकांश कोठा जोखिमपूर्ण अवस्थामा छन् ।

यही भवनमा बसेर प्रहरी सहायक निरीक्षकसहित पाँच जना प्रहरी नागरिकको सुरक्षा र सीमा क्षेत्रको निगरानीमा खटिरहेका छन् । करिब पाँच हजार नागरिकको सुरक्षाको जिम्मेवारी सम्हालिरहेको प्रहरी टोलीसँग सुरक्षित आवास, व्यवस्थित कार्यालय र आधारभूत सुविधासमेत पर्याप्त छैनन् ।

नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी पाएका प्रहरी आफैँ असुरक्षित संरचनाभित्र बसेर काम गर्नुपर्ने अवस्था विडम्बनापूर्ण छ । सुरक्षा संवेदनशील क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई आफ्नै कार्यालयमा सुरक्षित महसुस गर्नसमेत कठिन भइरहेको छ ।

पाँच दशक पुरानो भवन, पुनर्निर्माणको प्रतीक्षा

इलाका प्रहरी कार्यालय सुइया २०३१ सालमा स्थापना भएको हो । कार्यालयका लागि भवन भने २०३३ सालमा निर्माण गरिएको थियो । निर्माण भएको करिब पाँच दशक बितिसक्दा पनि नयाँ भवन बन्न सकेको छैन । लामो समयदेखि मर्मतसम्भार र पुनर्निर्माणको प्रतीक्षामा रहेको भवन अहिले प्रहरीको दैनिक कार्यसम्पादनकै लागि चुनौती बनेको छ ।

भवनका इँटा कमजोर भइसकेका छन् भने पर्खालमा चिरा परेका छन् । छत र भित्ताबाट पानी चुहिने समस्या सामान्य बनेको छ । तल र माथि गरी आठवटा कोठा रहेको भवनका अधिकांश कोठा वर्षात्का बेला चुहिने गर्छन् । भूकम्प वा अन्य प्राकृतिक विपद्का बेला भवनले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने चिन्ता पनि उत्तिकै छ ।

भवन जीर्ण भए पनि प्रहरीका लागि अर्को सुरक्षित संरचना छैन । आफ्नै जग्गा हुँदाहुँदै पनि आवश्यक बजेट र पूर्वाधारको अभावमा प्रहरी पुरानै भवनमा बस्न बाध्य छन् ।

कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक लोक मल्लका अनुसार संवेदनशील क्षेत्रमा रहेर नागरिकलाई सुरक्षा दिइरहेको प्रहरी टोलीले जीर्ण भवनका कारण विभिन्न कठिनाइ भोग्नुपरेको छ । भवनको अवस्था सुधार गर्नुपर्ने आवश्यकता लामो समयदेखि रहँदै आए पनि नयाँ भवन निर्माणको काम अघि बढ्न सकेको छैन ।

स्थानीयका अनुसार तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा समेत नभत्किएको भवन अहिले जीर्ण बन्दै गएको छ । कुनै समय प्रहरीको नियमित कामकाज धानिरहेको भवन अहिले सुरक्षाकर्मीका लागि जोखिमपूर्ण आश्रयस्थल बनेको छ ।

खाना पकाउँदा र खाँदासमेत जोखिम

प्रहरी कार्यालय नागरिकका उजुरी सुन्ने, अपराध अनुसन्धानमा सहयोग गर्ने, शान्तिसुरक्षा कायम गर्ने र आवश्यक पर्दा तत्काल परिचालित हुने स्थान हो । तर सुइयास्थित प्रहरी कार्यालयमा यी जिम्मेवारी पूरा गर्ने प्रहरीका लागि आवश्यक भौतिक सुविधा पर्याप्त छैनन् ।

प्रहरीहरू यही जीर्ण भवनमा खाना पकाउने, खाने र आराम गर्ने गर्छन् । हातहतियारसमेत यही भवनभित्र राख्नुपर्ने अवस्था छ । छत र पर्खाल कमजोर भएकाले दैनिक कामकाज गर्दा पनि जोखिमको चिन्ता रहने गरेको छ ।

खाना पकाउने भान्सा टिनले छाइएको छ । त्यहाँ पर्याप्त फर्निचर छैन भने बस्न र खानका लागि व्यवस्थित ठाउँसमेत उपलब्ध छैन । स्थानीयका अनुसार प्रहरीहरू उभिएरै खाना खानुपर्ने अवस्थामा छन् ।

कार्यालयमा गुणस्तरीय खानेपानीको व्यवस्था छैन । प्रहरीहरूले आर्सेनिकयुक्त पानी प्रयोग गर्दै आएको बताइएको छ । पानीको गुणस्तर परीक्षण गरी सुरक्षित खानेपानीको व्यवस्था गर्न आवश्यक देखिएको छ । नुहाउनका लागि व्यवस्थित बाथरुम छैन भने शौचालयको सुविधा मात्र उपलब्ध छ ।

नागरिकको सुरक्षा सुनिश्चित गर्न खटिने सुरक्षाकर्मीले नै सुरक्षित आवास, स्वच्छ खानेपानी र आधारभूत सरसफाइको सुविधा नपाउनु कार्यस्थल व्यवस्थापनसँग जोडिएको गम्भीर विषय हो ।

सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद्मा उद्धारको जिम्मेवारी

भारतसँग सीमा जोडिएको सुइया क्षेत्र भौगोलिक तथा सुरक्षा दृष्टिले संवेदनशील मानिन्छ । यस क्षेत्रमा स्थानीय नागरिकसँगै सीमापारिबाट आउने भारतीय नागरिकको समेत आवागमन हुने गर्छ । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण, चोरी तथा अन्य आपराधिक गतिविधिको रोकथाम र शान्तिसुरक्षा कायम गर्न प्रहरीको सक्रिय भूमिका आवश्यक छ ।

नरैनापुर क्षेत्रमा आगलागी, बाढी तथा अन्य प्राकृतिक विपद् आइपर्दा उद्धार र राहतमा समेत प्रहरी अग्रपङ्क्तिमा खटिने गर्छन् । तर यस्तो जिम्मेवारी पूरा गर्ने प्रहरीको आफ्नै कार्यालय सुरक्षित नहुँदा कार्यसम्पादनमा चुनौती थपिन सक्छ ।

सीमावर्ती क्षेत्रमा पर्याप्त जनशक्ति, प्रभावकारी परिचालन र सुरक्षित भौतिक संरचना आवश्यक हुन्छ । प्रहरी कार्यालय नै जोखिमपूर्ण अवस्थामा रहँदा त्यसले सुरक्षाकर्मीको दैनिक जीवनसँगै नागरिकलाई प्रदान गरिने सेवाको प्रभावकारितामा समेत असर पार्न सक्छ ।

स्थानीयवासीका अनुसार सुइया क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी कार्यालयको नयाँ भवन निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ । नागरिकको सुरक्षामा खटिने प्रहरीलाई सुरक्षित कार्यस्थल उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व भएको उनीहरूको भनाइ छ ।

गंगापुर प्रहरी चौकी पनि जोखिममा

बाँकेमा प्रहरी कार्यालयको भौतिक अवस्था सुइयामा मात्र सीमित छैन । जिल्लाका अन्य प्रहरी चौकीमा समेत भवन, आवास र आधारभूत सुविधाको अभाव देखिएको छ ।

गंगापुरस्थित प्रहरी चौकीले वडा कार्यालयले छाडेर गएको भवन प्रयोग गरिरहेको छ । दुईतले उक्त भवन सामान्य वर्षा हुँदा पनि चुहिने गर्छ । राप्ती नदीको किनारमा रहेको चौकी बाढीको जोखिममा समेत छ । सानो बाढी आउँदासमेत पानी चौकीसम्म आइपुग्ने गरेको प्रहरीको भनाइ छ ।

अरूको उद्धारमा खटिनुपर्ने प्रहरीलाई नै बाढीका बेला उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने जोखिमले प्रहरी चौकीको स्थान र संरचनाबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता देखाएको छ ।

गाउँपालिका अध्यक्ष भन्छन् : मर्मतका लागि तत्काल बजेट व्यवस्था गर्छौँ

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इलाका प्रहरी कार्यालय सुइयाको भवन मर्मतका लागि आवश्यक बजेट तत्काल व्यवस्था गर्ने बताएका छन् ।

रेडियो नेपालसँग कुरा गर्दै अध्यक्ष शाहले सीमावर्ती तथा दुर्गम क्षेत्रका प्रहरी कार्यालयको भौतिक अवस्था सुधार गर्न गृह प्रशासनले प्राथमिकता दिनुपर्ने बताए । नयाँ भवन निर्माणका लागि बजेट विनियोजन हुन नसक्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले भने, “दुर्गम क्षेत्रमा गृह प्रशासनको ध्यान नजानु भनेको हामीलाई उपेक्षा गरिएको हो । हामीलाई उपेक्षा नगरियोस् ।”

अध्यक्ष शाहले भवन मर्मतका लागि गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै नयाँ भवन निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरेका छन् ।

स्थानीय सरकारले मर्मतका लागि पहल गर्ने प्रतिबद्धता जनाए पनि भवनको दीर्घकालीन समाधानका लागि प्राविधिक मूल्याङ्कन, पुनर्निर्माण योजना र सम्बन्धित निकायबाट बजेट सुनिश्चित हुन आवश्यक छ । तत्काल मर्मतले जोखिम कम गर्न सहयोग पुर्‍याउन सक्छ । तर अत्यन्त जीर्ण भवनको सुरक्षित विकल्प निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।

प्रहरी सुरक्षित भए मात्रै सुरक्षा सेवा प्रभावकारी हुन्छ

प्रहरीको प्रमुख जिम्मेवारी नागरिकको जिउधनको रक्षा गर्नु हो । तर सुरक्षाकर्मी स्वयं असुरक्षित भवनमा बस्नुपर्ने अवस्था लामो समयसम्म कायम रहनु गम्भीर विषय हो । सीमावर्ती क्षेत्रका प्रहरी कार्यालयमा पर्याप्त भवन, सुरक्षित आवास, स्वच्छ खानेपानी, व्यवस्थित शौचालय र आवश्यक फर्निचरको व्यवस्था गर्नु उनीहरूको सुविधाको विषय मात्र होइन, प्रभावकारी सुरक्षा सेवाको पूर्वसर्त पनि हो ।

सम्बन्धित निकायले बाँकेका प्रहरी कार्यालय तथा चौकीको भौतिक अवस्था र विपद् जोखिमको तत्काल प्राविधिक मूल्याङ्कन गरी अत्यन्त जोखिमपूर्ण भवन पहिचान गर्न आवश्यक छ । त्यसपछि तत्काल मर्मत गर्न सकिने संरचनाको सुधार, जोखिमपूर्ण भवनका लागि वैकल्पिक व्यवस्था र नयाँ भवन निर्माण गर्न बजेटसहितको कार्ययोजना बनाउनुपर्छ ।

सीमा सुरक्षा र नागरिकको संरक्षणलाई प्राथमिकतामा राख्ने हो भने प्रहरीलाई सुरक्षित कार्यस्थल उपलब्ध गराउनु अपरिहार्य छ । नागरिकलाई सुरक्षा दिने प्रहरी नै जीर्ण भवनको जोखिममा बसिरहनुपर्ने अवस्थाको अन्त्य गर्न अब आश्वासनमा मात्र सीमित नभई बजेट, स्पष्ट योजना र कार्यान्वयनको समयसीमासहित अघि बढ्न आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button