तपाईँ सुन्दै हुनुहुन्छः

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधारणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । 

विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाउनुभएको थियो । 

त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाउनुभएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । 

यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका लगाएपछि सर्वसाधारणका लागि खुला गरिएको टीका ग्रहणको काम सुरु भएको तलेजुका पूर्वमुल नाइके जोशीले बताउनुभयो । 

एकान्त कुमारी लुनिभाको हातबाट टीका स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गर्नुभएपछि दुर्गा विसर्जनसहित तलेजु भवानीलाई दसैँ घरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको उहाँले जानकारी दिनुभयो । फूलपातीको दिन तलजुलाई देवगृहबाट मूलचोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो ।

राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरूले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक आज देवगृहमा भित्र्याउनुभएका जोशीले जानकारी दिनुभयो । 

भक्तपुरस्थित तलेजु यात्राका क्रममा १९ जना पुजारीले परम्परागत रुपमा लगाइँदै आएको जामा, पगरी, भोटो, खास्टोसहितको वस्त्र धारण गरी देवीदेवतालाई दसैँघरमा भित्र्याउनुभएका हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button