तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ सुरु भएसँगै गमगढी बजार सुनसान

मुगु। दसैँ पर्व सुरु भएसँगै मुगुको छायाँनाथ रारा नगरपालिकास्थित सदरमुकाम गमगढी बजार सुनसान बनेको छ भने गाउँघरमा चहलपहल ह्वात्तै बढेको छ। दसैँ मनाउन बजार क्षेत्रमा बस्दै आएका स्थानीयवासी आ-आफ्नो गाउँ फर्किएपछि बजारका पसल, सडक र सार्वजनिक स्थानमा मानिसको आवागमन घटेको हो।

रोजगारी, व्यापार, अध्ययन तथा विभिन्न सिलसिलेवार कामका लागि गमगढी बजारमा बस्दै आएका नागरिकहरू दसैँ मनाउन घर फर्किएका हुन्। गाउँघरमा परिवारका सदस्य, आफन्त र इष्टमित्र भेला हुन थालेपछि दसैँको छुट्टै रौनक छाएको छ।

दसैँका लागि आवश्यक सामग्री किनमेल गर्नेहरूको चहलपहल केही दिनअघि बजारमा बाक्लो भए पनि पर्व नजिकिएसँगै मानिसको उपस्थिति घटेको स्थानीय व्यापारी जयलक्ष्मी चौँलागाईँले बताउनुभयो। बजारमा दैनिक उपभोग्य वस्तुका पसलहरू खुलेका भए पनि ग्राहकको संख्या भने निकै पातलिएको छ।

दसैँ नेपालीहरूको महान् चाड भएकाले टाढा-टाढा रहेका परिवारका सदस्यहरूसमेत घर फर्किने चलन छ। वर्षभरि कामकाजमा व्यस्त रहने स्थानीयवासी यस अवसरमा परिवार र आफन्तसँग भेटघाट गर्ने, टीका-जमरा लगाउने तथा सुख-दुःख साटासाट गर्ने गर्दछन्।

सदरमुकाम गमगढी बजार सुनसान बने पनि जिल्लाका ग्रामीण बस्तीहरूमा भने दसैँको उल्लास छाएको छ। बजारको चहलपहल घटेसँगै गाउँघरमा पर्वको रौनक थप बढेको देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button