गाउँघरमा दसैँको रौनक, पिङ संस्कृतिको जर्गेना गरिँदै

डडेल्धुरा । दसैँ नजिकिँदै गर्दा गाउँघरमा बाँसको लिङ्गो गाड्ने र बाबियोको लट्ठा बाटेर पिङ हाल्ने संस्कृतिको जर्गेना भइरहेको छ ।
दसैँका लागि छिमेकी जिल्ला र अन्य देशहरूमा रोजगारीका लागी गएका नेपाली युवा युवतीहरू घर फर्किन थालेपछि गाउँघरमा रौनकता बढेको छ ।
दसैँ मनाउनका लागि घर फर्किनेहरूको ताँती लागेपछि अहिले गाउँघरमा दसैँको रौनकता बढ्नुका साथै विगत लामो समयदेखि प्रचलनमा आउँदै गरेको पिङ, देउसी भैलो र विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरू हुन लागेछन् ।
डडेल्धुराका ग्रामीण बस्तीमा पिङ हाल्दै बालबालिकाहरू झुमिएका छन् भने सदरमुकाम डडेल्धुराको टुडीखेल र उग्रतारा मन्दिर परिसर बाहिर पिङ राखिएको छ ।
चाडपर्वका बेला बालबालिकाले रमाइलो गर्न सकुन् भन्ने उद्देश्यले स्थानीय मिलेर बनाएको पिङले परम्परालाई निरन्तरता दिने प्रयास गरेको छ ।
अमरगढी नगरपालिका–५ की लक्ष्मीदेवी बोहराले पहिलेको दसैँ सम्झिँदा अहिलेको अवस्थासँग तुलना गर्न नमिल्ने बताउनुभयो । दसैँ आउनुअघि साथीसंगी मिलेर बाबियो लिन जाने र पिङ बनाउने चलन थियो । पिङ बनाउन र खेल्न गाउँका मानिसमा छुट्टै उत्साह हुन्थ्यो । अहिले भने त्यस्तो चलन क्रमशः घट्दै गएको आभास हुने गरेको छ ।
पिङ खेल्न पालो कुर्ने, साथीभाइसँग प्रतिस्पर्धा गर्ने र लामो समयसम्म रमाइलो गर्ने चलन थियो । अहिले भने नयाँ पुस्ताले त्यही परम्परालाई निरन्तरता दिन कम चासो देखाउन थालेको स्थानीय बताउँछन् । दसैँमा पिङ खेल्ने चलनसँग एउटा पुरानो मान्यता पनि जोडिएको छ । वर्षमा एक पटक भए पनि धर्ती छोड्नुपर्छ । यही मान्यताका कारण दसैँका बेला पिङ खेल्न मानिसहरू उत्साहित हुन्थे । पिङ खेल्न पालो कुर्ने, साथीभाइसँग प्रतिस्पर्धा गर्ने र लामो समयसम्म रमाइलो गर्ने चलन थियो । अहिले भने नयाँ पुस्ताले त्यही परम्परालाई निरन्तरता दिन कम चासो देखाउन थालेको स्थानीय बताउँछन् ।
पिङ संस्कृति कमजोर हुनुमा बदलिँदो जीवनशैली र मनोरञ्जनका माध्यममा आएको परिवर्तनलाई पनि स्थानीयले जोड्ने गरेका छन् । पहिले फुर्सदको समयमा सार्वजनिक स्थलमा भेला भएर रमाइलो गर्ने चलन थियो ।
अहिले मोबाइल फोन, सामाजिक सञ्जाल र डिजिटल सामग्रीले मनोरञ्जनका नयाँ विकल्प दिएका छन्। यसले मानिसको समय बिताउने तरिका परिवर्तन गरेको छ । प्रविधिको प्रयोग आफैँमा समस्या नभए पनि त्यससँगै सामूहिक रूपमा मनाइने चाडपर्वका गतिविधिप्रतिको चासो घट्नुले पुराना परम्परा प्रभावित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्