तपाईँ सुन्दै हुनुहुन्छः

महाअष्टमीमा मधेसका शक्ति पीठमा भक्तजनको घुइँचो

जनकपुरधाम । विजया दशमीअन्तर्गत महाअष्टमीका दिन मधेस प्रदेशका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि माता भगवतीको पूजा अर्चना गर्ने भक्तजनको घुइँचो लागेको छ। जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरसहित प्रदेशका विभिन्न शक्ति पीठमा दर्शन तथा पूजा अर्चना गर्न आउने भक्तजनको चहलपहल बढेको छ।

महाअष्टमीका अवसरमा भक्तजनले आ–आफ्नो भाकलअनुसार प्रसाद चढाउँदै भगवतीको पूजा गरिरहेका छन्। मधेस प्रदेशका धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका शक्ति पीठहरूमा बिहानैदेखि भक्तजनको उपस्थिति बाक्लो देखिएको छ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–३, मत्सरीस्थित दुर्गा मन्दिरमा पनि महाअष्टमीका दिन बिहानैदेखि पूजा अर्चना गर्नेहरूको भीड लागेको छ। सयौँ वर्षदेखि वैदिक विधि र परम्पराअनुसार पूजा हुँदै आएको यस मन्दिरमा घटस्थापनादेखि दुर्गा विसर्जनसम्म विशेष धार्मिक अनुष्ठान सञ्चालन गरिन्छ।

मैथिल ब्राह्मणहरूको बाक्लो उपस्थिति रहने यस मन्दिरमा चौबीसै घण्टा खटिएका ब्राह्मणहरूद्वारा दुर्गा सप्तशती पाठ, चण्डीपाठलगायत विभिन्न पूजापाठ गरिन्छ। सामुदायिक रूपमा सञ्चालन हुँदै आएको मन्दिरमा वर्षभरि नै पूजा हुने भए पनि नवरात्रको अवधिमा विशेष अनुष्ठान तथा पूजाको आयोजना गरिन्छ। वाग्मती नदीको तटमा अवस्थित मत्सरीको दुर्गा मन्दिर मिथिलाको इतिहास र धार्मिक परम्परासँग जोडिएको छ। दसैँका अवसरमा मन्दिर परिसरमा आकर्षक माटाका प्रतिमा निर्माण गरिएका छन्। वैदिक विधिअनुसार प्राण प्रतिष्ठा गरी विधिपूर्वक पूजा गर्ने परम्परा यहाँ रहिआएको छ।

मन्दिरको पूजा व्यवस्थापनका लागि परम्परादेखि नै पूजा समिति गठन गर्ने चलन छ। मन्दिरको आम्दानी, सुनचाँदीका गरगहनालगायत सम्पत्तिको व्यवस्थापन पनि समुदायले गर्दै आएको छ।

महाअष्टमीको मध्यरातमा विशेष निशा पूजा आयोजना गरिने दुर्गा पूजा समितिका अध्यक्ष अभिशेक झा(बब्लु)ले जानकारी दिनुभयो। निशा पूजाका लागि आवश्यक तयारी समेत गरिएको उहाँले बताउनुभयो।

यसैगरी, सप्तरीको छिन्नमस्ता तथा सखडा भगवती मन्दिर, बाराको गढीमाई मन्दिर र धनुषाका राजदेवी, अमरखाना तथा पियरियामाई स्थानमा पनि भक्तजनको घुइँचो लागेको छ।

महाअष्टमीमा शक्ति पीठहरूमा हुने विशेष पूजा अर्चना, धार्मिक अनुष्ठान र भक्तजनको उपस्थितिले मधेस प्रदेशको धार्मिक तथा सांस्कृतिक परम्परालाई थप जीवन्त बनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button