तपाईँ सुन्दै हुनुहुन्छः

दसैँमा सीमा सुरक्षामा कडाइ, नेपालगञ्ज आइसिपीमा तालिमप्राप्त कुकुर परिचालन

बाँके । दसैँ मनाउन भारतका विभिन्न सहरबाट घर फर्किने नेपालीको चाप बढेसँगै बाँकेको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएको छ। 

लागू औषध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसिपी)मा ब्राभो र एन्जल नामका दुई तालिमप्राप्त कुकुर परिचालन गरी जाँचलाई थप प्रभावकारी बनाइएको छ।

सीमा सुरक्षा गुल्म मुख्यालय जमुनाहका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक जीवनकुमार मल्लका अनुसार चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भएकाले सीमा क्षेत्रमा सुरक्षा निगरानी र जाँचलाई तीव्रता दिइएको हो। आइसिपीमा आउने सवारीसाधन, यात्रु तथा उनीहरूले बोकेका सामान जाँच गर्न तालिमप्राप्त कुकुरको समेत सहयोग लिइएको उहाँले बताउनुभयो।

भारतका विभिन्न सहरबाट नेपाल आउने नेपाल–भारत मैत्री बसलाई आइसिपीमा रोकेर यात्रु र उनीहरूका सामान चेकजाँच गर्ने गरिएको उहाँले जानकारी दिनुभयो। जाँचका क्रममा लागू औषध ओसारपसार तथा भन्सार छली गरेर ल्याइएका सामानमाथि विशेष निगरानी राखिएको उहाँले बताउनुभयो । “यो हाम्रो नियमित जाँच हो। चाडपर्वका बेला अझ व्यापक निगरानी गर्छौँ,”  प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो।

उहाँका अनुसार भारततर्फ जाने खाली ट्रक तथा भारतबाट आवश्यक प्रज्ञापन पत्रबिना आउने सवारीसाधनमाथि पनि निगरानी बढाइएको छ। आइसिपीका चार वटै प्रवेशद्वारमा चौबीसै घण्टा सुरक्षाकर्मी परिचालन गरी आवतजावत गर्ने सवारीसाधन तथा यात्रुको निगरानी भइरहेको उहाँले बताउनुभयो।

दसैँ सुरु भएसँगै जमुनाह नाकाबाट दैनिक १२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेको सशस्त्र प्रहरीले जनाएको छ। 

सीमा क्षेत्रमा यात्रुको चाप र भिडभाड बढेकाले आवश्यकताअनुसार तालिमप्राप्त कुकुर परिचालन गरी शङ्कास्पद सवारीसाधन तथा सामानको जाँच गर्ने गरिएको प्रहरीले जनाएको छ। दसैँ र तिहारजस्ता प्रमुख चाडपर्वका बेला सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गर्ने अभ्यास विगतका वर्षमा पनि हुँदै आएको थियो।

यसैबीच, भारतबाट घर फर्किने नेपाली यात्रुलाई सहजता प्रदान गर्न प्रहरीले जमुनाह नाकामा नागरिक सहायता कक्षसमेत सञ्चालन गरेको छ। 

सहायता कक्षमार्फत स्वदेश फर्किने यात्रुको विवरण सङ्कलन गर्नुका साथै यात्राका क्रममा समस्या भोगेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

चाडपर्वका बेला स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेसँगै सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापन, अवैध ओसारपसार नियन्त्रण र यात्रु सहायताका कामलाई प्राथमिकता दिइएको छ। तालिमप्राप्त कुकुरको परिचालन, सवारीसाधन तथा यात्रुको जाँच र चौबीसै घण्टा सुरक्षाकर्मीको उपस्थितिले लागू औषध ओसारपसार तथा भन्सार छली नियन्त्रणमा सहयोग पुग्ने सशस्त्र प्रहरीको अपेक्षा छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button