तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गर्नुभयो । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचारहरू सार्वजनिक भएका छन् ।

मन्त्री खनालले भन्नुभयो, “तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छ्रैनौँ ।” वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उहाँले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने आफूहरूको चाहना रहेको बताउनुभयो ।

“भ्रमणका दौरान ‘ट्रेड र ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा केही न केही सकारात्मक प्रगति होस् भन्ने छ”, मन्त्री खनालले भन्नुभयो । भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्याससँगै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । 

गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलोपटक भारत भ्रमण हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button