तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुर जिल्ला अस्पतालमा चिकित्सकको अभाव, लाइन बसेका बिरामी उपचारै नगरी फर्किए

उदयपुर I सरकारी अस्पतालमा सहज र सुलभ उपचार पाउने अपेक्षासहित अस्पताल पुग्ने बिरामी चिकित्सकको अनुपस्थितिका कारण उपचारै नगरी फर्कन बाध्य भएका छन्। 

उदयपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा बिहीबार ओपिडीको पुर्जा लिएर उपचारको प्रतीक्षामा बसेका चार दर्जनभन्दा बढी बिरामी चिकित्सक नहुँदा निराश भएर घर फर्किएका हुन्।

छालासम्बन्धी समस्या लिएर अस्पताल पुगेका त्रियुगा नगरपालिका–१२ का गोपालकृष्ण तिम्सिना बिहानैदेखि लाइनमा बसे पनि उपचार पाउन  सक्नुभएन । बिहान ८ बजे अस्पताल पुगेर ओपिडीको पहिलो नम्बरको पुर्जा लिनु भएका तिम्सिनाले करिब साढे १० बजे आफ्नो पालो आउँदासमेत चिकित्सक नभेटिएपछि उपचार नगराई फर्कन बाध्य हुनुभयो ।

तिम्सिनाका अनुसार ओपिडीमा रहेका एक मेडिकल अधिकृतले सम्बन्धित चिकित्सक बिदामा रहेको जानकारी दिँदै बाहिरको क्लिनिकमा उपचार गराउन सुझाव दिनु भएको थियो ।

‘बिहान ८ बजे नै अस्पताल पुगेर पुर्जा लिएँ र लाइनमा बसेँ। करिब साढे १० बजे पालो आउँदा ओपिडीमा चिकित्सक हुनुहुन्न रहेछ,’ तिम्सिनाले भन्नु भयो , ‘अस्पतालमै उपचार गराउन आएको बिरामीलाई बाहिर क्लिनिकमा देखाउन भनिएपछि उपचार नगरी घर फर्कनुपर्‍यो।’

जिल्ला अस्पतालको एक नम्बर ओपिडीमा एमडिजिपी चिकित्सक डा. रन्दीप राउतले बिरामीको स्वास्थ्य परीक्षण गर्दै आउनु भएको थियो । उहाँ बिदामा रहेपछि उक्त ओपिडीको सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सन्तोष राईले चिकित्सक बिदामा रहेका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै उहाँको स्थानमा मेडिकल अधिकृत खटाइएको बताउनुभयो । पुर्जा वितरण गर्ने कर्मचारीलाई चिकित्सक उपलब्ध भए–नभएको जानकारी नहुँदा बिरामीले अनावश्यक प्रतीक्षा गर्नुपरेको उहाँको  भनाइ छ।

‘पुर्जा वितरण गर्ने कर्मचारीलाई चिकित्सकको उपलब्धताबारे जानकारी नहुँदा समस्या भएको हो,’ राईले भन्नु भयो, ‘अब पुर्जा काट्ने काउन्टरमै चिकित्सक उपलब्ध भए–नभएको जानकारी दिने व्यवस्था मिलाउँछौँ । आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिन सचेत रहनेछौँ।’

उहाँले जिल्ला अस्पतालमा सधैँ सबै विशेषज्ञ सेवा उपलब्ध गराउन नसकिने पनि बताउनुभयो । तर, चिकित्सकको अनुपस्थितिमा वैकल्पिक व्यवस्था प्रभावकारी नहुँदा र बिरामीलाई समयमै जानकारी नदिँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ।

सरकारी अस्पतालमा उपचारका लागि पुग्ने नागरिकले समय, श्रम र यातायात खर्च गरेर पनि सेवा नपाउनु सार्वजनिक स्वास्थ्य सेवा व्यवस्थापनको कमजोरीका रूपमा देखिएको छ। चिकित्सक बिदामा बस्दा वैकल्पिक जनशक्ति परिचालन गर्ने तथा सेवा प्रभावित हुने अवस्थाबारे बिरामीलाई अग्रिम जानकारी दिने व्यवस्था प्रभावकारी नहुँदा यसको प्रत्यक्ष असर सर्वसाधारणमा परेको छ।

यसैबीच, जिल्ला अस्पतालले गत आर्थिक वर्षमा इन्डोस्कोपी मेसिन र जेनेरेटर खरिदका लागि कोशी प्रदेश सरकारले विनियोजन गरेको बजेटसमेत खर्च नगरी फ्रिज गरेको थियो। आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि छुट्टाइएको बजेट खर्च हुन नसक्नु र अर्कोतर्फ बिरामीले नियमित उपचार सेवा प्राप्त गर्न नसक्नुले अस्पतालको सेवा व्यवस्थापन र स्वास्थ्य पूर्वाधार सुधारको अवस्थामाथि थप चासो उत्पन्न गरेको छ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहज सेवा उपलब्ध गराउन चिकित्सकको नियमित उपस्थिति, वैकल्पिक जनशक्तिको व्यवस्था र सेवा प्रवाहबारे स्पष्ट सूचना प्रणाली आवश्यक देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button