मुख्य सिजनमा पनि पोखरामा होटल अकुपेन्सि २५ प्रतिशत मात्र

पोखरा । पर्यटनको मुख्य सिजनमा हाल पोखरामा होटल अकुपेन्सि भने २५ प्रतिशत मात्र रहेको छ ।
प्राकृतिक विपद्, बाढीपहिरो तथा सडक अवरोधका कारण प्रभावित बनेको पोखराको पर्यटन बजार हाल निकै कम चहलपहल हँुदा होटल अकुपेन्सि भने २५ प्रतिशतमा खुम्चिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।
विगतका वर्षमा यही सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दा होटल अकुपेन्सी ८० प्रतिशतसम्म पुग्ने गरेको स्मरण गर्दै उहाँले यस वर्ष पर्यटकको चहल पहल कम भएको गुनासो गर्नुभयो । भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी क्षेत्रमा आएको बाढी तथा विभिन्न सडक र राजमार्गमा भएको अवरोधले पर्यटकको आवागमन प्रभावित पारेको सुवेदीको भनाइ छ ।
देशमा देखिएको प्राकृतिक विपद्का कारण होटलमा भएका करिब ३० प्रतिशत अग्रिम बुकिङसमेत रद्द भएको उहाँले जानकारी दिनुभयो । पोखरामा पर्यटकीय स्तरका चार सयभन्दा बढी होटल रहेको र ती होटलमा एकै रातमा करिब ४० हजार बेड क्षमताको व्यवस्था रहेको होटल संघ पोखरा नेपालको दाबी छ । पर्यटकीय सिजनमा अपेक्षित पर्यटक नआउँदा होटल व्यवसायीले आर्थिक दबाब सामना गर्नुपरेको छ ।
यद्यपि, पछिल्लो समय सडक तथा राजमार्ग सञ्चालनमा आउनु, मौसम अनुकूल बन्दै जानु र नोभेम्बरका लागि होटल बुकिङ सुरु हुनुले व्यवसायीमा आशा जगाएको छ । रेवान पोखराका अध्यक्ष वसन्त गौतमले दशैँको मुखमा तथा अक्टोबर महिनामा अपेक्षाकृत कम पर्यटक आए पनि नोभेम्बरका लागि हाल बुकिङ हुन थालेको बताउनुभयो । उहाँले आगामी दिनमा पोखराका होटल तथा रेस्टुरेन्टमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्ने विश्वास व्यक्त गर्नुभयो । “हामी आशावादी छौँ । मौसमले पनि साथ दिएको छ र सडक तथा राजमार्गहरू खुलेका छन् । अब पोखराका होटल तथा रेस्टुरेन्टमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरेका छौँ,” गौतमले भन्नुभयो ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकको आगमन कम हुँदा त्यसको प्रभाव आसपासका पर्यटकीय गन्तव्यमा समेत परेको व्यवसायीको भनाइ छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष सुरेश लामिछानेले फेवाताल क्षेत्रमा आउने पर्यटक बेगनासतालसम्म पुग्ने गरेको भए पनि समग्र पोखरामै पर्यटकको चहलपहल घट्दा बेगनास क्षेत्रको पर्यटन व्यवसायसमेत प्रभावित भएको बताउनुभयो । पर्यटकको आगमन न्यून हुँदा पर्यटकलाई स्वागत सत्कार गर्न व्यस्त हुनुपर्ने समयमै व्यवसायी फुर्सदिला बनेको उहाँले उल्लेख गर्नुभयो । यद्यपि, पछिल्लो समय देखिन थालेको सुधारको संकेतले आगामी दिनमा पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको लामिछानेले बताउनुभयो ।
यसैबीच, पोखरामा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुले पनि पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले असोज ७ गतेदेखि सुरु भएको फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडानले पोखराको पर्यटन प्रवद्र्धनमा थप सम्भावना सिर्जना गरेको बताउनुभयो ।
फ्लाई दुबईले आगामी वर्षको अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गर्नुले पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई सेवाको निरन्तरता र पर्यटन विकासका लागि सकारात्मक आधार तयार भएको श्रेष्ठको भनाइ छ । नियमित अन्तर्राष्ट्रिय उडानले विदेशी पर्यटकको आगमन बढाउन तथा पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा प्राकृतिक सौन्दर्य, फेवाताल, बेगनासताल, सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटको विशाल महादेवको मूर्ति तथा आसपासका पदयात्रा मार्गका कारण स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको छ । तर, पर्यटन सिजनमै पर्यटकको आगमन न्यून हुँदा होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसाय प्रभावित भएका छन् । सडक सञ्जाल सहज बन्दै जानु, मौसमले साथ दिनु, अन्तर्राष्ट्रिय हवाई उडानको नियमितता र नोभेम्बरका लागि देखिएको बुकिङको संकेतले पोखराको पर्यटन बजार पुनः लयमा फर्किने अपेक्षा व्यवसायीले गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्