तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री डा वाग्लेद्वारा एडीबीलाई जलवायु–उत्थानशील पुनर्निर्माणमा सघाउन आग्रह

काठमाडौँ I अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन  एसियाली विकास बैङ्कलाई आग्रह गर्नुभएको छ ।

थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो ।

त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा वाग्लेले एशियाली विकास बैङ्कप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । 

छलफलमा भ्रमण दलमा रहनुभएका अर्थ सचिव डा घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button