पर्वतीय दौडको उपाधि फेरि नरेन्द्रलाई
पोखरा । पोखराको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित तेस्रो पोखरा पुम्दीभुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका धावक नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीमा शनिबार सम्पन्न प्रतियोगितामा रावतले निर्धारित ८ किलोमिटर दूरी ३४ मिनेट ३५.८८ सेकेन्डमा पूरा गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएका हुनुभयो ।

उपाधिसँगै रावतले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो हुनुभयो । श्रेष्ठले ३५ मिनेट १६.१९ सेकेन्ड तथा क्षेत्रीले ३५ मिनेट २९.०१ सेकेन्डमा दूरी पूरा गर्नुभयो । उहाँहरूले क्रमशः ३० हजार र १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभयो ।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आयोजित प्रतियोगितामा नेपालसहित विभिन्न देशका १७५ धावक सहभागी भएका थिए । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका–२२ को सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताको समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटनलाई नयाँ आयाम दिन पर्वतीय दौडजस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्य, साहसिक गतिविधि, खेलकुद र स्थानीय संस्कृतिलाई पर्यटनसँग जोड्न सके पोखराको पर्यटनलाई थप विस्तार गर्न सकिने उल्लेख गर्नुभयो ।
विभिन्न विधामा उत्कृष्ट धावक सम्मानित
प्रतियोगिताको खुला महिलातर्फ दीर्पा बस्नेत प्रथम हुनुभयो । उहाँले ४८ मिनेट १३.४६ सेकेन्डमा दूरी पूरा गर्दै १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । दोरपता कठायत दोस्रो र मीनु बुढा तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः ५० मिनेट २०.४३ सेकेन्ड र ५१ मिनेट १३.२१ सेकेन्डमा दूरी पूरा गर्नुभयो ।
यू–१६ विधामा कमल विक प्रथम, मुलुक सिंह खत्री दोस्रो र सक्षम बोहोरा तेस्रो हुनुभयो । पोखरा महानगरपालिका–२२ का स्थानीय धावकतर्फ क्रिशल परियार पहिलो, सुयन विक दोस्रो तथा कमल पौडेल तेस्रो हुनुभयो ।
भेट्रान्सतर्फ तेजबहादुर गुरुङ प्रथम, किशोर थापा दोस्रो र कमल गुरुङ तेस्रो हुँदा विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम र रुसका अलेकजेन्डर दोस्रो हुनुभयो । युक्रेनका माइखाइलो तेस्रो स्थानमा रहे । खुला विधाबाहेकका अन्य विधामा उत्कृष्ट तीन धावकलाई क्रमशः १५ हजार, १० हजार र सात हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । खुला पुरुषतर्फ चौथोदेखि दशौँ स्थानसम्मका धावकलाई समेत नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
यसैबिच, प्रतियोगिताको अवसरमा पुम्दीभुम्दी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा स्थानीय विकासमा योगदान पुर्याएको भन्दै राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो ।
गुरुङ कालाबाङ घडेरी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेडी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्ष समेत हुन् । स्थानीय क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास र गन्तव्य पहिचानमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई आयोजकले निरन्तरता दिएको हो ।
यसअघि प्रतियोगिताका अघिल्ला संस्करणमा पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, विश्वशान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङ तथा साहसिक पर्यटन क्षेत्रका व्यक्तित्व कुसाङ गुरुङ र वसन्त गौतमलाई सम्मान गरिएको थियो ।
विश्वशान्ति स्तूपदेखि बुद्ध पार्कसम्म दौड
प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई विशाल महादेवको मूर्ति, वडा कार्यालय हुँदै कालाबाङ घडेरीस्थित बुद्ध पार्क पुगेर समापन भएको थियो । दौडको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले विश्वशान्ति स्तूपमा आयोजित कार्यक्रममा गर्नुभएको थियो । उद्घाटन समारोहमा कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरसहित विभिन्न क्षेत्रका अतिथिको सहभागिता थियो ।
मन्त्री गुरुङले पर्वतीय दौडले गाउँ पर्यटन र खेल पर्यटनको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो । प्रतियोगिताका क्रममा स्थानीय बासिन्दाले विभिन्न स्थानमा धावकलाई स्वागत गरेका थिए । सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको पञ्चेबाजाले आगन्तुक धावकलाई स्वागत गरेको थियो ।
प्रतियोगिताको संयोजन दीननाथ बरालले गर्नुभएको थियो । कार्यक्रममा आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले स्वागत तथा पर्यटन विज्ञ दीपेन्द्र पहारीले सञ्चालन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्