विद्यार्थीले बनाए रोबोटदेखि स्मार्ट ब्लाइण्ड स्टिकसम्म
धनकुटा । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई र आधुनिक प्रविधिको प्रयोग गरेर धनकुटाका विद्यार्थीले विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् ।

धनकुटाको चुलिबनस्थित निजामती आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले रोबोटदेखि दृष्टिविहीन व्यक्तिलाई हिँडडुल गर्न सहयोग गर्ने स्मार्ट ब्लाइण्ड स्टिकसम्मका उपकरण निर्माण गरी प्रदर्शन गरेका हुन् । पीआई इनोभेसन्स विराटनगरको सहयोगमा आयोजित छ दिने तालिममा विद्यार्थीले कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र आधुनिक प्रविधिसम्बन्धी ज्ञान हासिल गर्नुका साथै आफैँले विभिन्न उपकरण निर्माण गरेका हुन् ।
विद्यार्थीले दृष्टिविहीन व्यक्तिलाई हिँडडुल गर्न सहयोग गर्ने स्मार्ट ब्लाइण्ड स्टिक, ब्लुटुथबाट नियन्त्रण गर्न सकिने गाडी, ग्याँस चुहावट पत्ता लगाउने उपकरण, आफैँ फोहोर सङ्कलन गर्ने भाँडो, स्वचालित रूपमा बिरुवामा पानी हाल्ने उपकरण, अवरोध पहिचान गर्ने रोबोट र यातायात व्यवस्थापनमा प्रयोग हुने ट्राफिक बत्ती निर्माण गरेका छन् ।

विद्यार्थीले निर्माण गरेको स्मार्ट ब्लाइण्ड स्टिकले अगाडि अवरोध आएमा साइरन बजाएर प्रयोगकर्तालाई सचेत गराउँछ । त्यस्तै, ग्याँस चुहावट पत्ता लगाउने उपकरणले ग्याँसको उपस्थिति थाहा पाएपछि साइरन बजाउँछ भने फोहोर सङ्कलन गर्ने भाँडो अगाडि व्यक्ति वा वस्तु आएमा आफैँ खुल्छ । स्वचालित सिँचाइ उपकरणले आवश्यकताअनुसार बिरुवामा पानी हाल्ने अभ्यास गराउँछ । त्यसैगरी, अवरोध पहिचान गर्ने रोबोटले अगाडि अवरोध भेटेपछि दिशा परिवर्तन गरी फर्कने क्षमताको रहेको छ ।
असोज १९ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको तालिममा ३६ जना विद्यार्थी सहभागी भएका थिए । तालिममा पीआई इनोभेसन्स विराटनगरका मनोज रेग्मी र नयन निरौला प्रशिक्षक रहनुभएको थियो । विद्यार्थीलाई सानै उमेरदेखि आधुनिक प्रविधिसँग परिचित गराउँदै व्यावहारिक ज्ञान र सीप प्रदान गर्न यस्ता कार्यक्रम उपयोगी हुने विद्यालयका प्रधानाध्यापक सुरेश काफ्लेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्