कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने
कास्की । कास्कीकोट दरबार परिसरमा रहेको गुप्तकाली मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव आयोजना हुने भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडादसैँको अवसर पारेर घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन हुन लागेको हो।

परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट मानवीय र भौतिक क्षति नहोस् भन्ने कामनासहित विशेष पूजा गरिने भएको छ। घटस्थापनादेखि विजयादशमीसम्म पुजारीहरू मन्दिरमै बसेर गुप्तकालीको आराधना गर्ने कार्यक्रम रहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताउनुभयो।
घटस्थापनाको दिन असोज २५ गते विधिपूर्वक कोतघरमा प्रवेश गरी नवदुर्गाभर विशेष चण्डी पाठ तथा दुर्गा कवच पाठ गरिने समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताउनुभयो। उहाँका अनुसार कास्कीकोटस्थित गुप्तकाली मन्दिरमा परापूर्वकालदेखि नै विभिन्न पर्व तथा अवसरमा विशेष धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन्।
यस वर्ष बडादसैँका दसैँ दिनसम्म कोतघरमा पाणासहितका पुजारीहरूले राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गर्ने कार्यक्रम रहेको छ। मन्दिरमा तान्त्रिक तथा वैदिक दुवै विधिबाट पूजाआजा गरिने सचिव त्रिपाठीले जानकारी दिनुभयो।
बडादसैँको फूलपातीका दिन पोखराको रामघाटबाट ल्याइएको फूलको डोली विधिपूर्वक मन्दिरमा भित्र्याई नवपत्रिकाको तान्त्रिक विधिअनुसार पूजा गरिनेछ। सोही दिन कुँवर समुदायको परम्परागत तथा लोपोन्मुख सैन्य अभ्यास ‘सरुन खेल’ समेत प्रदर्शन गरिने कार्यक्रम रहेको त्रिपाठीले बताउनुभयो।
त्यस्तै, महाअष्टमीको मध्यरातमा कालरात्रिको पूजा गरिनेछ भने महानवमीका दिन पञ्च बलि दिने परम्परा रहेको छ। विजयादशमीका दिन मन्दिरमा टीका ग्रहण गरेपछि फूलपाती तथा अन्य पूजा सामग्री सहित वास्पानी कालिकामा पूजा विसर्जन गरिनेछ।
कास्कीकोटमा दसैँका अवसरमा नेपालमै लोपोन्मुख अवस्थामा रहेको सरुन खेल तथा परम्परागत मालश्री धुन प्रस्तुत गरिने सचिव त्रिपाठीले बताउनुभयो। यसका साथै कोतघरमा दसैँका बेला बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तथा तरबार र तोपसमेत प्रदर्शन गरिने समितिले जनाएको छ।
गुप्तकाली मन्दिरमा पूजाआजा तथा पञ्च बलिको भाकल गर्न आउने भक्तजनको दैनिक भीड लाग्ने गरेको छ। कास्की राज्यको स्थापनाकालदेखि नै यस मन्दिरमा हरेक दसैँमा विशेष पूजा हुँदै आएको धार्मिक विश्वास छ। यही स्थानका नामबाट कास्की जिल्लाको नामकरण भएको भन्ने किंवदन्तीसमेत प्रचलित छ।








प्रतिक्रिया राख्नुहोस्