नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनुभएको छ । सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जबाफदेहिताका रूपमा लिएको बताउनुभयो।

‘तपाईँहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छु ।,’ उहाँले भन्नुभयो ।
विशेष महाधिवेशनपछि भएको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइ थियो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जबाफदेहिता बढाउनुपर्ने उनले बताउनुभयो ।
सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै उनले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने बताउनुभयो। खड्गीसहित प्रतिस्पर्धामा रहेका सबैलाई सँगै लिएर अघि बढ्ने उहाँको भनाइ थियो।
थापाले अहिले नागरिक र काँग्रेसबिचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनः स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने उहाँको प्रतिबद्धता थियो।
महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताउनुभयो।
काँग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने पनि उहाँले स्पष्ट पार्नुभयो। कानुन सबैका लागि समान हुने उल्लेख गर्दै उनले कुनै व्यक्तिले गल्ती गरे त्यसको जबाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताउनुभयो।
काँग्रेसलाई विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उनले जोड दिनुभयो । १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाट परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ थियो।








प्रतिक्रिया राख्नुहोस्