तपाईँ सुन्दै हुनुहुन्छः

युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य: सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताउनुभएको छ।

नेपाल बिजनेस इन्स्टिच्युट र बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्नुहुँदै उहाँले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो।

“कुनै पनि देशको सबैभन्दा ठूलो शक्ति र पुँजी भनेको युवा जनशक्ति हो। अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्न र आर्थिक समुन्नति हासिल गर्न सकिँदैन। त्यसका लागि सरकारले आवश्यक वातावरण बनाउने र निजी क्षेत्रले त्यसमा साथ दिने हो,” उहाँले भन्नुभयो।

सञ्चारमन्त्री तिमिल्सिनाले विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्नुहुँदै नेपालले पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण गरिरहेको जानकारी दिनुभयो। नवप्रवर्तन र उद्यमशीलताको विकास कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्नुहुँदै उहाँले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले सूचना प्रविधिका क्षेत्रमा नेपालमा नयाँ जनशक्ति र विज्ञहरू विकास हुँदै गएको उल्लेख गर्नुहुँदै सरकारले त्यसलाई मुलुकको आर्थिक रूपान्तरणको अवसरका रूपमा उपयोग गर्न चाहेको स्पष्ट पार्नुभयो । 

अहिले ठूलो सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेकोमा आगामी दिनमा सूचना प्रविधिको माध्यमबाट विश्व बजारमा नेपाली सेवा पुर्‍याउन सकिने बताउनुभयो।

“अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ। सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिन्छ। यसले युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्छ,” उहाँले भन्नुभयो।

सूचना प्रविधिको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने तथा सेवाको गुणस्तर सुधार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयो। दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ(जी सुरु गर्ने गरी काम गरिरहेको उहाँको भनाइ थियो।

सूचना प्रविधिका क्षेत्रमा उपलब्ध अवसरबाट मुलुकले कसरी बढी आर्थिक लाभ लिन सक्छ भन्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिँदै उहाँले प्रविधिको विस्तारलाई रोजगारी, उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताउनुभयो।

प्रविधि र मानवीय सिर्जनशीलताबीचको सम्बन्धमा जोड दिनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले प्रविधिले काम गर्ने तरिका परिवर्तन गर्न सक्ने भए पनि मानिसको महत्त्व घटाउने नभई उसको क्षमता अभिवृद्धि गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो।

“प्रविधिलाई मानवीय सिर्जनासँग जोड्न सक्नुपर्छ र त्यसबाट अधिकतम लाभ लिनुपर्छ। सूचना प्रविधिले कामको प्रकृति परिवर्तन गर्न सक्छ, तर यसले मानिसको महत्त्व घटाएको छैन। प्रविधिलाई एउटा उपकरणका रूपमा प्रयोग गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ,” उहाँले भन्नुभयो।

सरकारको जिम्मेवारी नीति निर्माणमा मात्र सीमित नहुने उल्लेख गर्दै उहाँले नीतिको प्रभावकारी कार्यान्वयनमार्फत नागरिक, उद्यमी र समग्र अर्थतन्त्रले प्रत्यक्ष लाभ प्राप्त गर्ने अवस्था निर्माण गरिने पनि प्रष्ट पार्नुभयो ।

शिक्षा र सीप विकासको बदलिँदो प्रवृत्तिबारे चर्चा गर्नुहुँदै 
सञ्चारमन्त्री डा. तिमिल्सिनाले विगतमा शैक्षिक योग्यता हासिल गर्नुलाई बढी प्राथमिकता दिने गरिएकोमा अहिले भविष्यमा आवश्यक पर्ने सीप र क्षमतामा आधारित शिक्षातर्फ ध्यान बढ्दै गएको बताउनुभयो। युवालाई बजारको मागअनुसार दक्ष बनाउँदै उद्यमशीलताका लागि तयार गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। सुदन झाले कृत्रिम बौद्धिकता ९एआई० का क्षेत्रमा नेपालको अवस्था सुधार हुँदै गएपनि अझै कमजोर रहेको बताउनुभयो।

उहाँले एआई र उद्यमशीलताका क्षेत्रमा नेपाली युवाको सहभागिता बढ्दै गएको तथा सूचना प्रविधिका क्षेत्रमा लगानीसमेत विस्तार भइरहेको उल्लेख गर्नुभयो। यस अवसरलाई उपयोग गर्न सरकारले एआईसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो।

डा. झाले एआईको उपयोगबाट सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन, अर्थतन्त्रमा योगदान बढाउन, तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्न तथा विभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो। साथै, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउनसमेत एआईले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले उल्लेख गर्नुभयो।

एआईले विभिन्न समस्या समाधान गर्न सहज बनाउनुका साथै कामको दक्षता बढाउन सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले यस प्रविधिको सही उपयोगबाट नेपालले पनि लाभ लिन सक्ने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button