तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा बेपत्ता चिनियाँ पर्यटकको शव जटिल भौगोलिक खोचबाट फेला

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो क्षेत्रबाट फर्कने क्रममा बेपत्ता भएका एक चिनियाँ पर्यटकको शव अत्यन्तै जटिल र विकट भौगोलिक खोचबाट फेला पारी निकालिएको छ । 

छिमेकी मुलुक चीनका नागरिक चेन छियान गोक्यो क्षेत्र भ्रमण गरी फर्कने क्रममा हराएपछि खोजी तीव्र पारिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरूको संयुक्त टोलीले खोजी गर्ने क्रममा मृतकको शव फोर्चे क्षेत्रस्थित थाङ्गे भीरबाट करिब पाँच सय मिटर तल विशाल चट्टानी खोचमा मृत अवस्थामा फेला पारेको हो । 

हेलिकप्टरबाहेक अन्य माध्यमबाट उद्धार कार्य गर्न लगभग असम्भव मानिएको उक्त गहिरो र जटिल चट्टानी खोचबाट सुरक्षाकर्मी तथा स्थानीय आरोही (क्लाइम्बर) हरूको विशेष पहलमा शव सुरक्षित स्थानमा निकालिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हाल शवको आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने, काठमाडौँ लगेर परीक्षण (पोस्टमार्टम) गर्ने तथा सम्बन्धित देशमा पठाउने कार्यको तयारी भइरहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button