१८७ दिन, ११ पुस्तक र पढाइका अनेक अनुभव (दशैँ विशेष)

सलह, श्रवण मुकारुङ

६२/६३ सालतिर एउटा कविता निकै चर्चित भयो। कविताले जनआन्दोलनको रथको पाङ्ग्रो भएर दौडियो। यो कविताले आगो ओकल्दा म एसएलसीको मसी चोब्दै रहेछु। मैले निकै पछि कविता पढेँ, खङ्ग्रङ्ग भएँ। हातमा सलह छ। फट्याङ्ग्रा जातिको किरा। उडेर जताततै पुग्छ। बाली सखाप पार्छ। यो ‘लोकस्ट’का प्रणेता हुन्, कवि श्रवण। यसो गुगलदाइसँग नोकझोंक गर्दा २० सालतिर ठूलो सङ्ख्यामा मरुभूमिका सलह नेपाल छिरेको रहेछ। यसले मान्छेले वर्षभरि निल्ने अन्न रित्याउँछ, बाली सखाप पार्छ तर झन्डै ६० वर्षपछि सहरमा एउटा सलह देखा परेको छ। यो सलह शब्दहरूको सङ्ग्रह हो। अर्थात्, नायुमाले बाँचेको जिन्दगी।
०००
।।।सलह झैँ ‘सलह’ मेरो हातसम्म आइपुग्यो। तर, यो सलहले बाली–नाली झैँ समय भुसुक्क गर्छ कि गर्दैन ? त्यो त पढ्नै पर्ने हुन्छ। मैले पनि पाएपछि, बडो जतनसँग तीन दिन बिताएँ। भनौँ न, नायुमाले भोगेको भव्य जिन्दगीसँग। त्यो भोगाइमा मान्छेका अनेकौँ आवरण पानीको छालझैँ दुःख बोकेर आउँछ। क्रोध मिसिएर गायब हुन्छ। उनको सङ्घर्षका सामाजिक मनोविज्ञान बडो रोचक छ। लेखन काव्यिक। हास्यरस र स्वादिलो। मनमै बस्ने खालको। तर, उपन्यासको प्लटमा कैयौँ प्राविधिक त्रुटि छन्। नायुमा गायब हुँदाको बैकुण्ठ कोलोनीको रुवावासी र काठमाडौँ। जुद्धबहादुरको उमेर र फकल्यान्ड युद्ध। लेखकको राजनीतिक चातुर्यता। खैर, ।।। भन्नैपर्ने कुराहरू धेरै थिए तर एउटा लेखमा मैले भनिसकेँ।।।
ईथा, केशव दाहाल
किताब सक्काएपछि मनमा गढेका कुरा नि १
प्रत्येक रूपवान्, गुणवान्, प्रतिभावान् महिलाहरू इतिहासमा हुन् वा वर्तमान समाजमा, तिनले सदैव प्रेमाती जस्तो ‘खलनायक’ राजा रोज्नु/विवाह हुनु। दुःखको पहाड समयसँगै उक्लनुपर्ने दिन आउनु। फेरि दुःखको चुचुरोबाट सुस्तरी ओर्लँदै गर्दा कुनै चौतारीमा फेरि जितेदस्ती जस्तो अर्को ‘खलनायक’ टाइपकै राजासँग भेट हुनु। बाँकी जिन्दगी उही राजासँग सम्झौता गरी बिताउनु। सुरु/अन्त्यतिरको समयमा रानी नयनतारा जबर्जस्त विद्रोही भएर निस्कनु। आफ्ना प्रतिज्ञाप्रति कटिबद्ध/प्रतिबद्ध हुनु। कथाको बिच्चतिर बलात्कारबाट सुपुष्प जस्तो ज्ञानवान्/आज्ञावान् छोरो जन्मिनु। छोरोलाई फेरि सजिलै हातमा लिनु। मणीश्वर जस्तो ‘तोर्पे’ सल्लाहकार राजाको वरपर दगुर्नु। अनि, इतिहासदेखि वर्तमानसम्म शासन चलाउने राजा चाहिँ ऐतिहासिक पृष्ठभूमिमा सबैभन्दा नालायक र ‘अनुमानयोग्य’ गर्न नसक्ने हुनु। हन, कस्तो विडम्बना छ है, हाम्रो इतिहासको! समाजको! शासनको! सह–अस्तित्वको! पुरुषअहम्वादको र नारी स्वतन्त्रताको।।

०००
यो पुस्तकको सन्दर्भमा मेरो पठन सुखद रह्यो। इथाको कथासार ‘माथि’ मैले छिरमिर उप्काएकै विषय वरपर छ। लेखन त भनिसाध्य छैन, लयात्मक, सुललित तर कथा कतैकतै खुट्टा लरबराएजस्तो तर गज्जब। नारी स्वतन्त्रता, उन्मुक्ति र सार्वभौमिकताका ऐतिहासिक कथा जसरी आएर गए। नारी उन्मुक्तिको भाष्यलाई एउटा पुरुषमाथि अर्को पुरुषको ‘रिप्लेसमेन्ट’ का हजारौँ सेन्टिमेन्ट जसरी आएर गए। निकै विचारणीय। निकै स्वादिलो।
वास्तवमा, अर्कै कुनै किताबको ‘लन्च’मा सगुना म्यामसँग भेट भएको थियो। ‘एउटा किताब झोलाबाट फुत्त झिक्नु भो’, हातमा राख्दै, ‘पढ्नु’, बस्! यत्ति थियो म्यामको आदेश। मैले यो किताब समातेपछि निकै महिना मसँगै झोलामा झुण्डिएर दौडियो। आखिर नपढी सुख छ र?
हिउँद, नदीश
मैले एक चर्चित कविलाई कफी गफमा सोधेको थिएँ, सङ्ग्रहमा कतिवटा कविता चाहिँ कविता जस्ता भए भने छापिन योग्य हुन्छन्? कविताको अबोध बच्चोको अनुहारमा हेर्दै उहाँ फिस्स मुस्कुराउनुभएको थियो। चालिस/पचास कविता जस्ता कविता भनिने जिनिस हुनुपर्यो। कविता चाहिँ एक गोटा पाँचै भए पुग्छ। टेबलमा मस्त निदाइरहेको आफ्नो सङ्ग्रहलाई घुर्दै कविज्यूले जवाफ फर्काउनुभएको थियो। ।।।पुछारमा फुर्को जोड्दै कवितामा ‘आफ्नो’ सिग्नेचर चाहिँ हुनुपर्छ है! म सुनेर विस्मित भएको थिएँ।

०००
यो कविता सङ्ग्रह चिटिक्क परेको र्याकमा गुँड बनाएर बसेको थियो। आँखा सङ्ग्रहमा खसेपछि मैले ठसठस कन्दै ‘अ’ नामज्यूको स्वीकृति लिएर झोलामा कोचें। झोलामा कविता पस्नु अगावै सङ्ग्रहबारे सहरमा ‘घाईघुई’ हल्ला फैलिसकेको थियो। अर्थात्, मदन पुरस्कारको सूचीमा अटिसकेको। कविज्यूको छोटो/मीठो कविता छ नि– चिमोट्छ, ‘वित्थामा फाले जिन्दगी, अर्कोले पो जिउँथ्यो कि रु’, सङ्ग्रहप्रति कविज्यूलाई।।।के लाग्छ? खैर, उनी हिउँदको बर्को ओडेर प्रकृतिदेखि आत्मिक मनसम्मको यात्रा कविताका मुलायम शब्दमार्फत यात्रा गरेको प्रशस्तै पाइन्छ। मलाई त बिच्चबिचमा देखापर्ने छोटा कविता चाहिँ झन् खदिला पो लागे, गाँठे। ‘आफूलाई’ गहिरो गरी छाम्न चाहने कविको रहर। आफैँलाई ‘कतै/कहि’ भेट्टाउन चाहने कविको हरहर। कैयौँ कविता ताछेको भए अझ सुन्दर हुन्थ्यो कि भन्ने चाहिँ मनमा पर्यो। अनि, गह्रौँ शब्दको प्रयोगले कैयौँ कविताको मुलायम बिम्बमाथि बोझ थप्यो कि भन्ने चाहिँ मलाई खट्किरह्यो। कविता गम्य छन्। पठन सुखद। तपाईंको पनि रहोस्।
अति प्रभावकारी लोगों की ७ आदतें
निर्भरता, आत्मनिर्भरता र परस्पर निर्भरताको चरणमा एउटा सामान्य व्यक्तिले पुस्तकमा उल्लेखित आचरण/व्यवहारको सन्दर्भमा सात वटा प्रभावकारी बानी अवलम्बन गरे व्यक्तिले चाहेको सफलता प्राप्त गर्ने पुस्तक दाबी गर्छ। यहाँ उल्लेख भएका रसिला–कसिला विषयहरू कार्यान्वयन नगरेको खण्डमा फेरि मरणोपरान्तसम्म व्यक्ति उस्तै रहन्छ जस्तो उसले वंशानुगत गुणबाट बोकेर आएका मानवीय स्वभाव छन्। के यी ‘स्वभाव/गुण’ परिवर्तन गर्न सम्भव छ? सेल्फ–हेल्प पुस्तकको एउटा गज्जबको पाटो चाहिँ के छ भने तपाईंलाई ह्वात्तै ‘सिनर्जी’सँग जानकार गराइदिन्छ। तपाईं क्षणिक मखमल भइजानुहुन्छ। यसलाई सुखद भनौँ कि दुःखद।

खैर, यो पुस्तक मैले सन्दिप महेश्वरीको ‘स्पिच’बाट थाहा पाएको हुँ। ‘जान्नु’ एउटा कुरा रहेछ। कार्यान्वयन गर्नु अर्को कुरा। धेरै मान्छे यसैको साँधमा फसेका पाइन्छन्। जन्मेदेखि सामाजिक/राजनैतिक/आर्थिक र वैयक्तिक फन्डाहरूमा फस्नु भएका र ‘सेल्फ–हेल्प’ पुस्तकप्रति रुचि भएका सबै सबैका लागि एउटा गज्जबको पुस्तक।
०००
मैले नजिकका साथीहरूलाई भन्दै आएको छु, कुनै दिन चिया भेटमा मेरा कैयौँ बानी परिवर्तन भएको पाउनुभयो भने यसको श्रेय यही पुस्तकलाई जान्छ, है!
बासी भात
साँझतिरको कुरो।
म कुनै नेता झैँ न्युरोडको गल्लीगल्लीका मान्छे गन्दै हिँडिरहेको थिएँ। न कुनै एजेन्डा। न नीति। विनाउद्देश्य म दिशाहीन दौडँदै थिएँ। गन्तव्य थाहा हुने मलाई कुरै भएन। भर्खर ‘टिकट’ थमाइदिएको ऊर्जावान् नेता गाउँ पसेझैँ म खल्तीमा पसेका कैयौँ कागजको आडमा उसैउसै हौस्सिएर न्युरोड आइपुगेको थिएँ।
म लखरलखर कता हिँड्दै छु?
भेउ पाउनै सकिनँ मैले। टक्क अडिएँ। उल्लुले झैँ ३६० डिग्रीमा मुन्टो घुमाएँ। करिब करिब पाँच मिनेटजति रिङ्गिने गरी मुन्टो घुमाएपछि कानको जाली च्यात्ने गरी आइपुगेको आवाजले पो म झल्याँस्स भएँ– ‘पुराना किताब गज्जबका: किताब! किताब! किताब!’ ती दाइका कर्कश आवाजले घरको दैलोमा नमस्ते गर्दै आइपुग्नुभएका श्री नेता ज्यूको याद दिलायो। मनले के सोच्यो, कुन्नी! दिमागले के मथ्यो, कुन्नी! दाइका ‘जस्तासुकै किताब हुन्’ नसोची उठाएँ मैले, जसरी दशकौँदेखि कैयौँ नसोची नेताका काँध थापेका थियौँ हामीले।
०००
बाटोको रेलिङ। अडेस लागेका ती दाइ। फुटपाथमा उभिएरै हरहिसाब फछ्र्योट गर्ने हाते काउन्टर। एकपटक शङ्काले हेर्नुभयो मलाई। ठसठस कन्दै किताबको पन्ना पल्टाउनुभयो र रुन्चे स्वरमा बोल्नुभयो– ‘मूल्य चानचुन तीन रुपैयाँ।’ मैले त ‘बासी भात’ शीर्षक देखेर मन पराएको थिएँ। घरमा बिहानको/बेलुकाको बेलाबखत बासी भात भुटेर खाइन्थ्यो। लाग्यो, दशकौँदेखिको व्यवस्थाका बासी हर्कतमाथिका दनक भुटेका होलान् लेखकले। भुटेका हरेक चीज मिठै हुन्छ। जिब्रो रसायो। यसरी मैले उठाएको थिएँ यो कविता सङ्ग्रह। आँखा तर्दै ‘यो केटोले के पढ्ला’ को संशय फेरि मैतिर मिल्काउँदै किताब हुत्याउनुभयो। त्यसपछि, रात पर्यो। म घर फर्किएँ।
०००
चुनावको सरगर्मी छ। गाउँगाउँमा नेता छन्। नेताको आसपासमा झुम्मिएका जनता छन्। नेताका चर्काचर्का भाषणले वनपखेराका चराचुरुङ्गी तर्सेका छन्। रूखका हाँगामा टोलाउँदै हुलका हुल बथान ‘कहाँबाट आए ती’ ले पत्याउन सकिरहेका छैनन्। र यतिबेला चराहरू सोचमग्न छन् कि कैयौँ थान अठोट र आश्वासनप्रति।।।१ हेर्नुस् न, कविता बोल्छ।।।
आफ्नो लामो भाषणको अन्तमा
नेताजीले फेरि थपे
धेरै अर्ती र उपदेश दिने बानी
अब हामीले झट्टै छोड्नुपर्छ
कल्प, डा. नवराज लम्साल
टेबलमा गुँड बनाएर बसेको थियो, ‘कल्प’। म काम विशेषले कोठाभित्र पसेको थिएँ। आँखा मेरा ‘कल्प’मा एकाएक ठोक्किएको थियो। शायद उहाँले थाहा पाउनुभयो, मन मेरो किताबमा टक्क अडिएको छ। मौनता। केही मिनेट। गायब भएको समय। उहाँले खोक्दै किताब जुरुक्क उठाउनुभयो। चश्मा थोरै तल सार्दै मतिर पुलुक्क नजर ठोक्काउँदै– ‘तपाईं त कविता लेख्नुहुन्छ, होइन र?’ ‘ओहो! कहाँ लेख्नु? कम्ता गाह्रो छ कविता लेख्नु, मनले भित्रभित्रै बोलेका शब्दहरू दबाउँदै मैले– ‘अँ, लेख्छु कैलेकाहीँ तर कविता नै त कसरी भनूँ’ निन्याउरिँदै जवाफ फर्काएँ। उहाँले चश्मा फेरि माथितिर धकेल्दै मलाई निकैबेर घुर्नुभयो। ‘लामा छन् कविता, यस्सो नजर फ्याँकेरै थाहा पाएँ’, ‘पढ्नुस्, पढेपछि चाहिँ कस्ता छन् कविता मलाई पनि भन्नुस् नि!’ पुस्तक थमाउँदै ‘आदेश’ पो दिनुभयो।।११ म एकछिन ट्वाँ पो भइगएँ। ।।।उस्तै, मौनता। केही मिनेट। र, गायब भएको समय।

०००
मैले ‘कल्प’ बोकेर त्यहाँबाट निस्किएँ।
र, म फेरि निस्किएँ ‘कल्प’ यात्रामा केही दिन। बेलाबेला मलाई पनि यस्ता प्रश्नले निकै हिर्काउँछ– के हुँ म? के हो मान्छेको कर्म? ब्रह्माण्डीय शक्ति? त्यसलाई बेलाबखत खुट्याउन खोज्ने मान्छेको चेतना? यो समाज? र, यतिविघ्न विभाजित? यो राजनीति? र, यतिविघ्न घृणित? यो संस्कार/संस्कृति/पर्यावरण? र, यतिविघ्न अस्वीकृत/विभेद/अन्याय? अन्ततः के चाहन्छ मान्छे? मान्छे हुनुको जुन सत्व छ, त्यो मान्छेले कसरी बुझ्छ? कसले बुझाउँछ? को छ कर्ता? यी अनेक प्रश्न छन्। शायद कविता मार्फत उत्तरको खोजीमा हुनुहुन्छ कवि। र कविसँगको त्यो यात्रा गज्जबकै छ नि! तर कविताका केही सन्दर्भ वा भनौँ ‘प्लट’ निकै दोहोरिएको पाएँ। शायद, सम्पादनका बेला आँखा नपुगेको हुनसक्छ। वा, कवि नै चुक्नुभयो त्यहाँ। र जाँदाजाँदै ‘अग्नि’ र ‘कर्ण’को ओझमा कतै ‘कल्प’ थिचिएर निस्सासिन्छ कि भन्ने खतरा चाहिँ छ, है!
बदलिरहने बादलका आकृति, केदारमान व्यथित
‘एक कुरेत’ का कविता वाचन गर्दैछु भन्नुहुन्थ्यो कवि विप्लव प्रतीक सर। यो सङ्ग्रहमा त झन् ‘एक चौथाइ’ का कविता तर अर्थ, भाव र प्रहार भने एक हातको। तीन लाइनका अक्षरमा राजनीति, राजनीति गर्छु भनेर कुर्लने राजनेता, शक्तिशाली देशको हर्कत र मान्छे भनिएका मान्छेहरूले आफैँ बाँचिरहेको समयलाई गरेको ‘किडन्याप’ झन् विश्व मानव सभ्यताको दर्दनाक दर्शनमाथि नै दकस हुने गरी हिर्काएको महसुस हुँदा त यो विश्व नै छाडेर अर्कै ग्रहतिर भौतारिन मन लाग्ने, क्या!
मन पर्यो है, केदारमान व्यथित सरका काव्यात्मक विचार। हेर्नुस्, न!
निश्चय पनि
सधैँ भूगोल
तिम्रै मुठ्ठीभित्र मात्र हुँदैन।
०००
पृथ्वीको
सम्पूर्ण साँध
मेट्ने पो भन्छन्
ठिटाहरू त।
भिक्षु, व्यापार र विद्रोह, सुधीर शर्मा
मैले कतै पढेको थिएँ, ‘कहिलेकाहीँ थोरै जान्नु सर्वसाधारणका लागि धेरै उत्तम हुन्छ।’ बस्, त्यसैले धेरै थाहा पाउनु एकहिसाबले साधारण नागरिकहरूका लागि खतरनाक हुनसक्छ (इतिहासबारे थाहा पाउनु त राम्रै कुरा हो, है)। यसका धेरै कारणहरू छन्। नागरिकहरूले इतिहासका त्यस्ता घटनाहरूको बारेमा धेरै कुरा थाहा पाउँदै जाँदा उनीहरूसँग ‘प्रश्न’को जन्म हुनेछ। अनि, समयका विभिन्न कालखण्डमा ती प्रश्नले ढिलोचाँडो उत्तरको माग गर्न नागरिकलाई बाध्य बनाउँछ। तर, शासक, शासन र सत्ताका लागि यो कुरा सह्य हुँदैन। त्यसैले, ‘इलाइट’ वर्गले तपाईंलाई धेरै नघोत्लिनुस्, भन्छ। र, अन्त कतै अलमलाइरहन चाहन्छ।

०००
खैर, राजनीतिक पार्टीहरू ‘फुट्ने–टुट्ने–जोडिने’ परम्पराको ऐतिहासिक पृष्ठभूमि बडो रोचक रहेछ। हास्यास्पद उस्तै। स्कुलिङ त आजको होइन रहेछ नि! पुस्तकले भन्छः प्लेग्राउण्ड र खेलाडी हाम्रो। खेलको डिजाइन अर्कैको। हामीले ‘महान्’ भनिएका राजनीतिक केही पात्र त्यसबेला चीन भ्रमणमा पर्दा राजनीतिक दल नै फुटाउने अर्थात् असन्तुष्टि पोख्ने/देखाउने दृष्टान्त त झनै आश्चर्यचकित पार्ने खालको छ। देशको खाका बनाउने ‘नीति’ सिक्नभन्दा उपचार गर्न। घुम्न। मनोरञ्जन गर्न पो भ्रमण हुँदो रहेछ। पार्टी पङ्क्तिमा बाठो/टाठो चाहिँ अध्ययनको सिलसिलामा उतै हराउने/वकस पाए फर्कने परम्परा पनि हिजोदेखिको रहेछ। फेरि, शक्तिशालीहरू दलका ‘नेता’ भन्दै दुनो सोझ्याउने ‘रणनीति’ आफू अनुकूल बनाउन ती परम्परामा दस्तखत गरिरहने रहेछन्।
राजा महेन्द्रको पालामा दुई वर्षजति प्रधानमन्त्री पनि हुनु भएको रहेछ एक नेता। उहाँले त चीनले समर्थन नगरेको (राजासँग विद्रोह गर्न लडाकु माग्दा चीनले असहमति जनाएको) झोंकमा भारतपरस्त नीति नै अवलम्बन गरिदिनुभएछ, प्रधानमन्त्री हुँदा। अब, असंलग्न र सन्तुलित परराष्ट्र नीति त नेतृत्वको लडाइँमा हुने रहेछ भन्ने दृष्टान्तले देशको हविगत/छवि कहाँ पुग्ने अनुमान विकसित देशले गरिरहनु पर्छ र? भूपरिवेष्टित राष्ट्र, त्यसमाथि यस्तो अविवेकी निर्णय? राजा महेन्द्र चीनप्रति उतिविघ्न विश्वस्त हुनु, ढल्किनु। पश्चिमा देशहरूलाई असह्य हुनु। राजा वीरेन्द्रले त्यही ‘लिगेसी’ पछ्याउनुको मूल्य कहिँकतै चुकाउनुपरेको त होइन? पुस्तकले प्रशस्त प्रश्न छाडेको छ।
खम्पा विद्रोहमा मुस्ताङको भूमि प्रयोग हुनु। पछि तिनै लडाकूहरूलाई ‘निकम्मा’ बनाइदिनु। अमेरिकाले विद्रोहीको उद्देश्यमा साथ दिएको जस्तो गर्नु। अमेरिकाको उद्देश्य अर्कै हुनु। विद्रोहीको अर्कै। जब अमेरिकाको उद्देश्य पूरा भएपछि वार्षिक अनुदानको बजेट कटौती गरिदिनु। खम्पाहरू अलपत्र पर्नु। अब, कुरा बुझ्नुस्, कसैको इसारामा कुरै नबुझी दौडनुको परिणाम के हुनसक्छ वा देश/जनता/विद्रोहीले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा इतिहासको दृष्टान्तबाट आजको राजनीतिक वृत्तमा पाठ हुनसक्छ।
ओहो! हामीले काठमाडौँ खाल्डोभित्र देखेको राजनीति र टेलिभिजन/समाचारमा पढेको राजनीतिभन्दा ‘वास्तविक राजनीति’ अर्कै चल्दो रहेछ। अर्कै हुँदो रहेछ। हामी त बरा, कठोर राजनीतिक, सामाजिक र आर्थिक चेपुवामा परेपछि कुनै ‘मुलुक’को ‘नियति’ कति खतरनाक मोडबाट गुज्रन्छ भन्ने विषय ह्वारह्वार्ती आएका छन्। लेखकले दिएका ‘रिफरेन्स’ जोख्ने अध्ययनको तराजु त आफूसँग छैन। यद्यपि, लेखकको ‘मिहिनेत’लाई थोरै शङ्का, धेरै विश्वास गर्नुपर्ने चाहिँ पाएँ।
सायद किनाराहरू, उमेश अकिन्चन
उसो त ‘कविता’ फारो गरी लेखिनुपर्ने विधा हो। फारो गर्दै ‘आराम’ले पढ्नुपर्ने विधा हो। यो कविता सङ्ग्रह ‘सायद, किनाराहरू’को हकमा कविज्यूकै विचार करिब करिब लागू भो। कवितालाई ‘सुस्तरी’ छाम्दै, कविको मनमस्तिष्कले देखेको सृष्टि, समाज, संस्कार र कवि आफैँ बाँचिरहेको परिवेशका विभिन्न विषयवस्तुहरूलाई बडो उम्दा ‘कल्पना’, त्यो पनि आफ्नै ‘सिग्नेचर’ शैलीको स्वादमा कविताहरू पाएँ।

उसो त कवि/प्रशासक भन्नुहुन्थ्यो, मेरा कविता ‘सेमिक्राफ्ट’मा धेरै खुल्छन्। मलाई ‘मुलायम’ तर समाजको ‘अन्तरबोध’ खोतल्ने कविता मन पर्छन्। ती–त्यस्तै ‘अन्तरबोध’ गराउने कविताहरू यो सङ्ग्रहमा छन्। र, संयोग के भने मलाई पनि ‘सफ्ट’सँगै ‘सेमिक्राफ्ट’मा खुलेका र पढ्दै जाँदा थाहै नपाउँदै तरिकाले ‘झट्का’ दिने कविताहरू मनपर्छन्।
चिसो मौसम। हिउँदको पारिलो घाम। शान्त चौर। अनि, बदाम छोडाएर खाएझैँ, अझ भनौँ सुन्तला छोडाएर खाएझैँ स्वाद र सन्तुष्टिमा झन् कविताका फ्लेवरहरू मिसिँदा।।।१ बस्, के चाहियो र?
र, जाँदाजाँदै वानियाँ सरले लेख्नुभएको ‘लेखोट’मा कविताहरूमा टिप्पणी, सदर आदि कामकाजी भाषाको छनक दिएका छैनन्। कर्मचारी व्यक्तित्व वेपत्ता छ, भन्नुभएको रहेछ। तर, कैयौँ कविताहरूमा टिप्पणी, सदर, टिप्पणीका फाइलहरू जस्ता कामकाजी भाषा छन्। शायद, उहाँ झुक्किनुभयो?
पिठ्युँको भारी, शङ्कर कोइराला
प्रदर्शनीमा कोइरालाका ठेट नेपाली विषयवस्तु पस्कने लघुनाटक (पढिसके नि! त) स–सम्मान कोठाको कुनापट्टी फालिएको अवस्थामा मैले फेला पारेँ। कोठाभित्र छिर्दै गर्दा मैले मनमनै अठोट गरेँ, अत्यन्तै न्यून मूल्य तर लिजेन्ड राइटरका भेटिएर मन परेसम्मका फटाफट सबै कृति बटुल्ने। मैले त्यसै गर्दै गएँ। करिब एक घन्टाको ‘मिनी दौड’पछि एक प्लेट मःमको मूल्य बराबरको झन्डै १५ गोटा पुस्तक हात पारेँ।
‘ओख्खो! पुस्तक त थोत्रा थोत्रा तर पुराना लेखकका उठाउनु भएछ नि!’ पछाडिबाट काँधमा थपथपाउँदै प्रशासकज्यू बोल्नुभयो। मैले पनि रुन्चे स्वरमा (किनकि एक प्लेट मःम किन्ने पैसा गोजीबाट गायब हुनेवाला थियो) ‘दिनहुँ कुनै न कुनै पाठकले नउठाउँदो हो त शायद एकदिन महानगरको ट्रकले उठाउँथ्यो होला नि! बेसै, भो!’ भनिटोपलेँ।।।१
०००
साँझ पर्यो। फेरि भोलिपल्ट बिहान भयो। घाम उदाइरहे। डुबिरहे। दिन/रातहरू समयको पछ्यौरीमा बेरिँदै विलाउँदै/हराउँदै गए। म पनि उसैगरी हराइरहेँ आफ्नै ‘वेतुके’ दैनिकीसँग। हिजो पो झल्याँस्स सम्झिएँ प्लास्टिकमा गुम्साएका ती पुस्तक। मैले सकुशल पुस्तकलाई जतनसँग उद्धार गरेँ (निकै कमसल थिए नि! त)। र, लेखकले बाँचेको त्यो दुनियाँ वा भनौँ त्यो समय विचरण गर्न निस्किएँ ‘पिठ्युँको भारी’मार्फत। खैर, पुस्तक शङ्कर कोइराला सरको (उहाँको पहिलो कृति हो है मैले पढेको)। मनमा बडो गज्जबले खिप्यो ‘लेखन शैली र विषय फुकाउने कलाले’। झन् झर्रा शब्दमा बुनेका आम परिवारले दिनहुँ भोग्नुपर्ने आर्थिक/सामाजिक सकस। एक इमानदार ‘सरकारी जागिरे’को डरलाग्दो दकस। एकातिर समाजमा ‘जागिरे’ भन्नासाथ क्या! बबालै पो! भन्ने आम मनोदशाको भुमरीबाट गुज्रिनुपर्ने। अर्को, आफ्नै वैयक्तिक ‘आन्तरिक द्वन्द्व’ गलत/सहीको पहाडसँग दिनहुँ जुध्नुपर्ने पीडा। त्यो पनि लघुनाटकमार्फत। लेखनी होस् त यस्तो। क्या मिठ्ठो! क्या गज्जब!
सत्यप्रयास, डायमनशमशेर राणा
आमाले आँगनमा मकैको घान सुकाएझैँ पुस्तक भुइँभरि फिजार्ने ती दाइसँग अचेल मेरो चौपट्ट दोस्ती छ। म पुगेपछि उनी एकाएक मन्दमन्द मुस्काउँछन्। म भने निन्याउरिन्छु। त्यसको आफ्नै कारण छ। महिनौँको सङ्गत भइसक्दा पनि उनी अझै मलाई यसरी घुर्छन् कि मानौँ म उनैलाई ‘किडन्याप’ गर्न तिनी उभिएकै ठाउँ आइपुगेको छु। दाइ, सालिकझैँ मौन छन्। म भने उनको सामुन्ने।।।१ दाइको मौनता भत्काउन मैले उनकै आँखामा आँखा निकैबेर ठोक्काएपछि उनी बल्ल चलमलाउन थाल्छन्।।।१ ‘कुन पुस्तक उठाउने?’ जिब्रो लरबराउँदै बोल्न खोज्छन् तर।।।१ दाइ अझै ठान्छन्– उनका पुराना ‘सेकेन्ड ह्यान्ड’ पुस्तक उठाउने म महानगरको ट्रक हुँ। जो प्रत्येक हप्ता ठीक यही समयमा चुपचाप टुप्लुक्क आइपुग्छ, उनी उभिएकै ठाउँ।

खैर, पुस्तक उठाउनै पर्यो। मैले आँखा सर्सर्ती डुलाउन खोज्छु। टक्क आँखा अडिन्छ– ‘सत्यप्रयास’मा। मैले पाना पल्टाउँछु। ‘सेतो बाघ’को दोस्रो खण्ड रहेको थाहा पाउँछु। सेतो बाघ त उहिल्यै पढेको थिएँ। मनले ठान्छ– अब पालो यसैको हो। मैले दाइलाई सुकिला नोट हस्तान्तरण गर्छु। दाइले स–सम्मान पुरानो जिनिस। त्यसपछि, म रफ्तारमा छु। लेखक बुद्धिसागर न्युरोडका सडकमा फ्याफ्या गर्दै दौडिरहेका प्रत्येक मान्छेलाई पिसाबले च्यापेको देख्नुहुन्छ। मलाई भने उनले के देख्छन्? कि देख्दैनन्?
अनि, त्यसपछिको धेरै दिन म गायब हुन्छु।
०००
ओहो! कस्तो विद्रूप परम्पराको ऐतिहासिक जराबाट उम्रिएको समाजमा हामी बाँचिरहेका रहेछौँ। म एकाएक देखा पर्छु। यो पुस्तकका धेरै प्रसङ्गले मलाई ठाउँ–ठाउँमा घिक्लिक पार्छ। उसो त म किस्साहरूमा रमाउने मान्छे। झन् ऐतिहासिक प्रसङ्ग। अब, के चाहियो?
यस पुस्तकमा कैयौँ यस्ता प्रसङ्ग थिए, जसका कारण मनमुटु बाउडेर मलाई निकै दिन गाह्रो पार्छ। त्यसमध्येको एउटा सानो प्रसङ्ग छ, जुन मैले आफ्नै शैलीमा यहाँ नराखी सुखै पाउँदिन।
यसका खातिर म यता एकाएक देखा परेको हुन्छु।
महाराजाधिराज श्री वीर शमशेरको परम प्यारी कान्छी रानीलाई गोदान गर्नका लागि ठूलो धनराशि चाहिएको कुरा महाराजको कानसम्म पुग्छ। खड्ग शमशेरको निडर स्वभावसँग डराइडराइ शासन चलाएका वीर शमशेरले कौसी तोसाखाना (राष्ट्रकोष)मा पैसा नभएको सुइँको थाहा पाउँछन्। त्यसपछि आम नागरिकलाई छँदै छ, दासप्रथाबाट भर्खर मुक्त भएका दासदासीलाई समेत उनीहरूले आम्दानी गर्ने रकमबाट वार्षिक प्रतिव्यक्ति १० रुपैयाँ मूल्यको श्रमदान कर अनिवार्य गर्ने निर्णय भाइभारदारमाझ प्रस्ताव राख्छन्।
देव शमशेर तुलनात्मक रूपमा अरू भाइभारदारभन्दा विद्वान् रहेछन्। देश विकासको कुन प्रयोजनार्थ जनताबाट कर असुल्न लागेको हो? किन्तु देश विकासको कुनै योजना नभई जथाभावी कर उठाउनु ठीक हुन्छ? महाराजसमक्ष प्रश्न तेर्स्याउँछन्।
यो प्रश्न सुनेर महाराज रुष्ट नहुने कुरै थिएन। झन् भाइभारदारको के कुरा? हाम्रो क्षमता/ज्ञान भनेकै ऐतिहासिक जराबाट पलाउँदै आएको ‘चाकरीचुक्ली’ रहेछ। ती ‘महाराजलाई खुसी पार्न’ देव शमशेरमाथि गर्जिन थालिहाल्छन् भाइभारदार– यो त महाराजाधिराजको अर्थात् कान्छी भाउजूको गोदान गर्ने इच्छा हाम्रै परिवारको भलाइको निम्ति हो। हाम्रा समस्या मोचनका लागि उठाउन खोजिएको कर हो। तँ कुलद्रोही/झन्डै झन्डै उल्टै देशद्रोही नै रहेछस्, नि!
यता देव शमशेर भने इन्तु न चिन्तु अर्थात् अवाक् हुन्छन्।
ऐतिहासिक परम्परामा नै कस्तो देखिन आउँछ भने क्षमतावान्हरूलाई सदैव शत्रुका रूपमा देख्ने हाम्रा आँखा रहेछन्। ज्ञान, गुण, विमर्शको त कुरै भएन। आजको वर्तमान नेपाली समाजमा समेत त्यसको छाया भुईँ तहसम्म फैलिएको पाइन्छ। देशको प्रगतिभन्दा राजसी आराममै रमाउने रमितेहरूको हातमा शासनसत्ता पुगेपछिको विद्रूप रूपको बेलिविस्तारका अनेक प्रसङ्ग यस पुस्तकमा प्रशस्तै भेटिन्छ।
रैतीमाथि कर थपेर आर्जेको पैसाबाट गरेको पुण्यले पापमोचन हुँदैन भन्ने तर्क देव शमशेर राख्छन्। नत्र गरिबको आँसु र पसिनाले पोल्छ। सम्भवतः देवले सोचे जस्तो केही हुन पाउँदैन। उनी देशनिकालामै पर्छन्। सायद, त्यो आँसु र पसिनाले आजसम्म पनि नेपाली समाजलाई पोलिरहेको हुनसक्छ।
त्यसैले जनाब्– समाजका प्रत्येक तहमा अब देव शमशेरहरूको खोजी गरिनुपर्छ, न कि चतुरे/चटके/रमिते भाइभारदार।








प्रतिक्रिया राख्नुहोस्