तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम अन्तिम चरणमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो ।

प्रतियोगिताको हरेक संस्करण बृहत् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको सचिव खड्काले बताउनुभयो । गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यस पटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन् ।

एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको छ । मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको छ ।

तेस्रो संस्करणमा सहभागी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गर्ने क्रम तीव्र पारेका छन् । विदेशी खेलाडीको उपस्थितिले यसपटक एनपिएलप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ । 

टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास छ । एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक नौ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button