बाजुरामा ड्रागन फ्रुट खेतीको सम्भावनाले कृषक खुशी
बाजुरा । बाजुराको बुढिगंङ्गा नगरपालिका–१० का कृषक भोलाराम जैसीले विगत तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ। सदरमुकाम मार्तडीमा होटल व्यवसाय गरेर गाउँ फर्कनुभएका उहाँले ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी सुरुमा कुखुरापालन र तरकारी खेती गर्नुभएको थियो। पछि कृषि ज्ञान केन्द्र बाजुराको अनुदानमा उहाँले ड्रागन फ्रुट खेतीतर्फ कदम चाल्नुभयो।

हाल पाँच रोपनी क्षेत्रफलमा १,४०० वटा ड्रागन फ्रुटका बिरुवा लगाउनुभएका उहाँले जेठदेखि असोजसम्म फल्ने यो फलबाट राम्रो आम्दानी लिइरहेको बताउनुभयो। गत वर्ष ६ क्विन्टल बिक्री गर्नुभएका उहाँले यस वर्ष हालसम्म १५ क्विन्टल फल बिक्री गरी वार्षिक ५ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गरिरहनुभएको छ। प्रतिकेजी ३५० रुपैयाँमा बिक्री हुने यो फलको बजारीकरणका लागि मार्तडीदेखि अछामको साँफेबगरसम्म सहजै बजार पाइरहेको उहाँको भनाइ छ।
सिँचाइको राम्रो सुविधा नभएको बाजुरा जस्तो जिल्लामा जैसीको यो सफल अभ्यासले अन्य किसानहरूका लागि पनि उच्च मूल्यका नगदे बाली तथा फलफूल खेतीतर्फ आकर्षित हुन ठुलो प्रेरणा प्रदान गरेको छ । जैसीको खेतीबाट बाजुरामा ड्रागनको राम्रो सम्भावना रहेको प्रमाणित भएको भन्दै किसानहरु निकै हर्षित भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्