कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज खुलामञ्चमा जारी बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गर्नुभएको संशोधित विधान पारित गरेको हो ।
प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ ।
जसअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । यस्तै, तीन जना महामन्त्रीमध्ये एक जना महिला अनिवार्य गरिएको छ भने १५ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको छ ।
कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना चयन हुनेछन् । प्रवक्ता र सहप्रवक्ताको पनि व्यवस्था गरिएको छ ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५, खुला महिलाबाट १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना निर्वाचित हुनेछन् । उपत्यकाबाट एक महिलासहित दुई जना चयन हुने व्यवस्था छ ।
समावेशीतर्फ दलितबाट १४, आदिवासी जनजातिबाट २०, खस आर्यबाट १८, मधेसीबाट १३, थारूबाट ६ र पिछडिएको वर्गबाट तीन जना रहनेछन् । यस्तै, जनसम्पर्क समितिबाट सात, श्रमिकबाट तीन र पेशागत विज्ञबाट सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य रहनेछन् । अपाङ्गता भएका व्यक्तिबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना रहने व्यवस्था गरिएको छ ।
केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनित गर्नेछ ।
संशोधित विधान आज पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने भोलिको बन्द सत्रले पारित गर्नेछ । भोलि बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबार नै पारित गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्