तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा दक्षिण एसियाली तन्त्र–वास्तु तथा ज्योतिष अनुसन्धान केन्द्र स्थापना हुने

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ नागेश्वरी सामुदायिक वन क्षेत्रअन्तर्गत धरमपुर, चकलघाट, कुर्थिवारीमा दक्षिण एसियाली तन्त्र–वास्तु तथा ज्योतिष अध्ययन अनुसन्धान केन्द्र स्थापना हुने भएको छ ।

मौलिक वैदिक विज्ञान, तन्त्रशास्त्र, वास्तु शास्त्र तथा ज्योतिष विधाको अध्ययन, अनुसन्धान र संरक्षण गर्ने उद्देश्यले स्थापना गर्न लागिएको केन्द्रका लागि कोशी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्र स्थापनाका लागि करिब १० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

केन्द्र स्थापना गर्ने प्रस्तावित स्थलको आइतबार मुख्यमन्त्री कार्कीले स्थलगत अवलोकन समेत गर्नुभयो  । त्रियुगा नदी उकासबाट प्राप्त करिब सात बिघा क्षेत्रफलको जग्गामा अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी गरिएको हो ।

केन्द्रले दक्षिण एसियाली क्षेत्रमा विकसित मौलिक वैदिक ज्ञान, तन्त्रशास्त्र, वास्तु शास्त्र र ज्योतिष विधासम्बन्धी ज्ञान तथा परम्पराको वैज्ञानिक अध्ययन, अनुसन्धान, अभिलेखीकरण र संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतका अनुसार त्रियुगा नगरपालिका–७ को नागेश्वरी सामुदायिक वन क्षेत्रभित्र पर्ने धरमपुर, चकलघाट र कुर्थिवारीमा केन्द्र स्थापना गर्न प्रस्तावित जग्गा छनोट गरिएको हो । 

केन्द्र स्थापनाले त्रियुगा नगरपालिका–७ मात्र नभई उदयपुरकै समग्र विकासमा नयाँ सम्भावना सिर्जना गर्ने वडा अध्यक्ष अम्बर दनुवारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button