“काठमाडौँ-बैतडी: न विमान चल्यो, न सिधा बस सेवा!”
बैतडी। सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी र देशको राजधानी काठमाडौँबीचको सीधा सम्पर्क विच्छेद प्रायः बनेको छ। लामो समयदेखि बैतडीको पाटन विमानस्थलमा उडान ठप्प छ भने पछिल्लो समय काठमाडौँ–बैतडी सीधा बस सेवा समेत अनिश्चित बनेपछि स्थानीय बासिन्दाले ठूलो सास्ती खेप्नुपरेको छ।
स्थानीयका अनुसार हवाई र सीधा सडक दुवै माध्यमबाट राजधानीसँगको प्रत्यक्ष पहुँच टुट्दा आपत्कालीन बिरामी, विद्यार्थी, व्यापारी तथा चाडपर्वमा घर फर्किने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन्।
पाटन विमानस्थल: करोडौँको लगानी, तर उडान शून्य
१६ करोडबढी रुपैयाँ खर्चिएर कालोपत्रे र स्तरोन्नति गरिएको बैतडीको पाटन विमानस्थल अहिले गौचरन र सुनसान मैदानमा परिणत भएको छ।

भव्य रूपमा स्तरोन्नति गरी उडान सुरु गरिए पनि यात्रुको अभाव र नेपाल वायुसेवा निगम तथा निजी एयरलाइन्सको बेवास्ताका कारण नियमित उडान कायम हुन सकेन।
बैतडीवासीले हवाई यात्राका लागि अहिले पनि ३ देखि ४ घण्टाको कच्ची र घुमाउरो सडक पार गर्दै धनगढी वा अत्तरिया पुग्नुपर्ने बाध्यता छ।

सिधा बस सेवा ठप्प: यात्रुलाई पल्टी हान्नुपर्ने बाध्यता
विमान नचले पनि कम्तीमा काठमाडौँबाट बैतडीसम्म सोझै पुग्ने लामो दूरीका बस सेवाले सर्वसाधारणलाई केही राहत दिएका थिए। तर, पछिल्लो समय सडकको दुर्दशा, भाडा दरको अनिश्चितता र यातायात व्यवसायीको मनपरीका कारण सिधा बस सेवासमेत नियमित हुन छाडेको स्थानीय धर्मराज भट्टले गुनासो गर्नुभयाे । “यहाँबाट सिधा संघीय राजधानी जान सकिन्न, कि दार्चुला र बझाङको गाडीमा जानू पर्यो, कि कैलालीसम्म छुट्टै बसमा जानू पर्यो,” भट्टले भन्नुभयो, ‘दार्चुला र बझाङबाट काठमाडौँ छुट्ने गाडीमा सीट पाइदैन’ ।
काठमाडौँबाट हिँडेका यात्रुहरूले अत्तरिया, महेन्द्रनगर वा धनगढी पुगेर गाडी फेर्नुपर्ने बाध्यता छ।
सीधा गाडी नहुँदा काठमाडौँबाट बैतडी पुग्न ३० देखि ३६ घण्टासम्म लाग्ने गरेको छ भने बिचमा गाडी फेर्दा भाडा र अन्य खर्चसमेत दोब्बर हुने गरेको अर्का यात्रु नारायण सिंह भण्डारीले बताउनुभयो ।
आक्रोशित सर्वसाधारण
“राजधानीसँग सीधा जोडिने कुनै सुलभ माध्यम नहुनु राज्यले सुदूरपश्चिमलाई गरेको उपेक्षाको पराकाष्ठा हो,” स्थानीय सन्तोष जोशी भन्छन् । पाटन विमानस्थल नियमित सञ्चालन गर्न र काठमाडौँ-बैतडी सीधा बस सेवालाई व्यवस्थित बनाउन पटक-पटक स्थानीय तह र सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ।
चाडपर्व नजिकिँदै गर्दा घर फर्किने यात्रुको चाप बढेको समयमा समेत सडक र हवाई यातायातको यस्तो दुर्दशाले सुदूरपश्चिमको विकटतालाई झन् उजागर गरिदिएको छ। सरोकारवाला निकायले समयमै ध्यान नदिए नागरिकले थप सास्ती भोगिरहनुपर्ने निश्चित छ।








प्रतिक्रिया राख्नुहोस्