तपाईँ सुन्दै हुनुहुन्छः

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर। सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ ।

तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ (दर) खाएर महिलाले व्रत सुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् ।

व्रतको दोस्रो दिन महिलाले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजाअर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए ।

पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गर्ने परम्परा छ । विशेषगरी मिथिला तथा तराई–मधेसका जिल्लाका साथै काठमाडौँलगायत सहरमा रहेका मैथिल समुदायले जितिया पर्व मनाउने गर्छन् ।

जितिया कठोर व्रतमध्ये एक मानिन्छ । महिलाले सन्तानप्रति मातृभाव र समर्पण प्रकट गर्दै एक दिन–एक रात निराहार उपवास बस्ने परम्परा छ । यो व्रतका प्रभावले सन्तानको दीर्घायु हुने जनविश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button