तपाईँ सुन्दै हुनुहुन्छः

कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतक चार हजार नाघे

किन्शासा। लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा घट्दो देखिए पनि प्रकोप अझै नियन्त्रणमा आइसकेको छैन । पछिल्लो सरकारी तथ्याङ्कअनुसार संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ ।

कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार सात प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म आठ हजार तीन सय जनामा इबोला संक्रमण पुष्टि भएको छ भने चार हजार १८ जनाको मृत्यु भएको छ । दुई हजार १६२ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ ।

कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमणको अवस्था सबै क्षेत्रमा समान छैन । इटुरी प्रान्तका केही क्षेत्रमा नयाँ संक्रमितको संख्या घटिरहेको देखिए पनि पूर्वी कंगोका अन्य क्षेत्रमा संक्रमण अझै तीव्र रूपमा फैलिरहेको छ । दक्षिण उबाङ्गी प्रान्त पछिल्लो समय संक्रमण पुष्टि भएको सातौँ प्रान्त बनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सेप्टेम्बर २३ सम्म कंगोका सात प्रान्तका ६३ स्वास्थ्य क्षेत्रमा संक्रमण देखिएको थियो । तीमध्ये ४८ स्वास्थ्य क्षेत्रमा पछिल्लो २१ दिनभित्र नयाँ संक्रमित फेला परेका थिए । संक्रमणको निरन्तर विस्तार, असुरक्षा र प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा देखिएका चुनौतीले नियन्त्रण प्रयासमा कठिनाइ भइरहेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था सीमा विनाका चिकित्सक (एमएसएफ) ले आधिकारिक तथ्याङ्कभन्दा वास्तविक संक्रमित तथा मृतकको संख्या बढी हुन सक्ने जनाएको छ । रोगको निगरानी र संक्रमितको पहिचानमा देखिएका चुनौतीका कारण केही घटना तथ्याङ्कमा समेटिन नसकेको संस्थाको भनाइ छ ।

मे १५ मा घोषणा गरिएको यो प्रकोप कंगोमा हालसम्मकै सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको छ । विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप हो । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button