भेरी र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा नयाँ अध्यक्ष नियुक्त

बाँके । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेका दुई संघीय अस्पतालमा रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्ति गरेको छ ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गरी प्राप्त आवेदनका आधारमा अन्तर्वार्तामार्फत नेपालगञ्जस्थित भेरी अस्पताल र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मा नयाँ अध्यक्ष नियुक्त गरेको हो ।
मन्त्रालयले भेरी अस्पतालको विकास समिति अध्यक्षमा डा. लक्ष्मण सिग्देल र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा भीमकान्त लामिछानेलाई नियुक्त गरेको छ । सिग्देल भेरी अस्पतालमा कार्यरत कर्मचारी हुन् ।
नवनियुक्त दुवै अध्यक्षलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
अस्पताल विकास समितिको कार्यकाल समाप्त भई अध्यक्ष पद रिक्त रहेपछि लामो समयदेखि नेतृत्वविहीन रहेका दुवै अस्पतालमा नयाँ अध्यक्ष नियुक्त भएसँगै अस्पतालको व्यवस्थापकीय तथा संस्थागत विकासका कामले गति लिने अपेक्षा गरिएको छ ।
भेरी अस्पताल नेपालका पुराना अस्पतालमध्ये एक हो । लामो इतिहास बोकेको यस अस्पतालले बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा उपचार सेवाको गुणस्तर सुधारमा विकास समितिको महत्वपूर्ण भूमिका रहने गर्दछ ।
त्यस्तै, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थानीय नागरिकको पहल र धार्मिक अनुष्ठानबाट सङ्कलित सहयोगमार्फत निर्माण गरी सरकारलाई हस्तान्तरण गरिएको नेपालकै पहिलो अस्पतालका रूपमा परिचित छ । क्यान्सरका बिरामीलाई सहज र सुलभ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा पछिल्लो समय विशेषज्ञ सेवा तथा अत्याधुनिक उपचार प्रविधिको विस्तारलाई प्राथमिकता दिइँदै आएको छ ।
लामो समयदेखि रिक्त रहेका अस्पताल विकास समितिका अध्यक्ष पदमा नयाँ नियुक्ति भएसँगै दुवै अस्पतालको प्रशासनिक व्यवस्थापन, सेवा विस्तार, पूर्वाधार विकास र उपचार प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । नवनियुक्त अध्यक्षहरूले अस्पतालको संस्थागत विकाससँगै सर्वसाधारणलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी पाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्