राष्ट्रपति पौडेलद्वारा प्रा.डा.शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति एवम् शिक्षासेवी प्राध्यापक डा.सुरेशराज शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले डा.शर्माको निधनमा एक समवेदना सन्देश दिनुहुँदै डा.शर्माको निधनले आफू स्तब्ध भएको बताउँदै नेपालको शैक्षिक क्षेत्रको विकास र विस्तारमा उहाँको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।
डा.शर्माको निधन नेपालको शैक्षिक क्षेत्रका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई मुलुकको विकासको आधार मानेर यसको नीतिगत, प्राज्ञिक तथा भौतिक विकासलाई जीवनभर प्राथमिकता दिनुभएको बताउनुभयाे ।
राष्ट्रपति पौडेलले काठमाडौँ विश्वविद्यालयको स्थापना तथा लामो समयसम्म नेतृत्व, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को संस्थापक तथा विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा विकास र विस्तारमा डा.शर्माले पुर्याउनुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले डा.शर्माको निधनप्रति शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले आज शर्माको परिवारजनलाई राष्ट्रपति पौडेलको समवेदना सन्देश हस्तान्तरण गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्