भुटानमाथि गण्डकीको लगातार दोस्रो जित, दोस्रो खेलमा ६४ रनले पराजित
पोखरा । पाहुना टोली भुटानको राष्ट्रिय क्रिकेट टोली माथि घरेलु टिम गण्डकी प्रदेशले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा आज (बुधबार) भएको अभ्यास खेलको दोस्रो खेलमा गण्डकीले भुटानलाई ६४ रनले पराजित गर्यो ।

नेपाल भ्रमणमा रहेको भुटानी टोलीले पहिला टस जितेर बलिङ रोजेपछि गण्डकीले ब्याटिङ गरेको थियो । गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९६ रनको बलियो योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा भुटानको टोली १७.४ ओभरमा १३२ रनमै मिति भयो ।
गण्डकीको इनिङ्समा करन पंगेनी र सिब्रिन श्रेष्ठले समान ४५ रनको योगदान दिनुभयो । सन्दीप खत्री क्षेत्रीले ३० रनको योगदान दिनुभयो । गण्डकीका लागि दीपकप्रसाद डुम्रेले १९ रनको योगदान दिनुभयो । बलिङतर्फ भुटानका थिन्ले जाम्त्सोले ४ विकेट लिनुभयो । नामगे थिन्लेले ३ विकेट तथा सोनाम येशे र गाकुल कुमार घलेले समान २–२ विकेट लिनुभएको थियो ।
१९७ रनको लक्ष्य पछ्याएको भुटानले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदै गयो । गण्डकीका बलरहरूले दबाब कायम राखेपछि भुटानी टोली १७.४ ओभरमा १३२ रनमै समेटियो । गण्डकीका लागि विपिन खत्रीले ४ विकेट, दीपकप्रसाद डुम्रेले ३ विकेट तथा सिब्रिन श्रेष्ठले २ विकेट लिनुभयो । अलराउन्ड प्रदर्शन गरेका सिब्रिन श्रेष्ठ प्लेयर अफ द म्याच घोषित हुनुभयो ।
भुटानको टोली आइसिसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि नेपाल भ्रमणमा आएको हो । प्रतियोगिताको तयारी स्वरूप भुटानले नेपालमा विभिन्न अभ्यास खेल खेलिरहेको छ ।
यसअघि गण्डकीसँगको खेलमा पराजित भएको भुटानले अब क्यान ११ विरुद्ध दुई अभ्यास खेल खेल्ने भएको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । निर्धारित कार्यक्रमअनुसार ती खेलहरू बिहीबारदेखि सुरु हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्