मनाङमा तत्काल अत्यावश्यक काम अघि बढाउँछौँ : मुख्यमन्त्री पाण्डे

मनाङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित मनाङमा तत्काल गर्नुपर्ने अत्यावश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ।
आज मनाङको स्थलगत निरीक्षण गर्दै उहाँले प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको हो।
चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानीलगायत पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक काम तत्काल अघि बढाइने बताउनुभयो।
केही दिनअघि ठाडो र लमजुङ हिमालको बेसक्याम्पबाट बग्ने घट्टेखोलामा आएको बाढीपहिरोले मर्स्याङ्दी नदी थुनिएपछि स्थानीयमा त्रास उत्पन्न भएको थियो। अहिले पानी बगिरहेकाले जोखिम कम देखिए पनि खोलाको बगरमा थुप्रिएको गेग्रान र ठूला ढुङ्गाका कारण घरहरू जोखिममा छन् भने पक्की पुलसमेत पुरिएको छ।
स्थानीयवासीसँग प्रत्यक्ष भेट गरी समस्या र आवश्यकता सुनेपछि मुख्यमन्त्री पाण्डेले सडक तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि भएको क्षतिको विवरण माग गर्नुभएको छ।
उहाँले प्रदेश सरकारको स्रोत र क्षमताले तत्काल गर्न सकिने कामलाई प्राथमिकताका साथ अघि बढाउने तथा प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला र दीर्घकालीन कामका लागि सङ्घीय सरकारसँग समन्वय गरिने बताउनुभयो।
मुख्यमन्त्री पाण्डेले अहिलेको प्राथमिकता प्रभावित नागरिकको जीवन सहज बनाउने, अवरुद्ध सडक तथा पूर्वाधार सञ्चालन गर्ने र आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्ने रहेको बताउनुभयो।
चाडपर्व नजिकिँदै गरेकाले स्थानीयको दैनिकी सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखिएको उहाँको भनाइ छ।
बाढीपहिरोबाट भएको क्षतिको स्थलगत अवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री पाण्डेले विपद्का समयमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनासँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताउनुभयो।
यसअघि मङ्गलबार मुख्यमन्त्री पाण्डेले बागलुङ, म्याग्दी र पर्वतका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो। विसं २०७८ जेठ १४ र असार १ गते मर्स्याङ्दीमा आएको बाढीले पनि मनाङमा भौतिक क्षति पुर्याएको थियो।







प्रतिक्रिया राख्नुहोस्