तपाईँ सुन्दै हुनुहुन्छः

दुई सय नयाँ टावर र एक हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्षमा देशभर दुई सय नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै एक हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र पहुँचयोग्य बनाउन सेवा विस्तार तथा पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको बताउनुभयो।

उहाँका अनुसार नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा छ। त्यस्तै, देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न एक हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित गर्ने तयारी छ।

मन्त्री डा तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाइने बताउनुभयो।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले नेपाल टेलिकमका टावरमा पावर ब्याकअप क्षमता बढाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो। पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको र थप २ सय ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।

उहाँका अनुसार हाल मौज्दात करिब ५ सय ब्याट्री आवश्यक स्थानमा आगामी तीन महिनाभित्र जडान गरिसक्ने लक्ष्य राखिएको छ। ब्याकअपका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने मन्त्री डा तिमिल्सिनाले बताउनुभयो।

त्यस्तै, ३२ वटा सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने काम अघि बढाइएको छ। सम्भव भएसम्म त्यस्ता साइटलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।

राष्ट्रिय विद्युत् प्रसारण नपुगेका क्षेत्रमा रहेका नेपाल टेलिकमका सोलार साइटमा ब्याट्री, उपकरण तथा तार चोरी हुने र टावरमा भौतिक क्षति पुर्‍याउने घटना हुने गरेको उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार पूर्वाधारमा क्षति तथा चोरी गर्नेहरूमाथि कडा कारबाही गरिने बताउनुभयो।

यसैबीच, भोटेकोशी बाढीबाट नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा रु आठ करोड ८५ लाख १२ हजार ६८५ बराबरको क्षति भएको मन्त्री डा तिमिल्सिनाले सदनलाई जानकारी दिनुभयो।

रसुवा, नुवाकोट र धादिङमा रहेका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो। तीमध्ये त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। यी तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।

टिमुरेको टावरमा हेलिकप्टरमार्फत सोलार जडान गरी यही साता सेवा सञ्चालनमा ल्याइएको र पूर्णरूपमा क्षतिग्रस्त साइटका लागि आवश्यक स्थानमा वैकल्पिक टावर स्थापना गरी मोबाइल नेटवर्कको पहुँच कायम गरिएको मन्त्री डा तिमिल्सिनाले जानकारी दिनुभयो।

रसुवा, नुवाकोट र धादिङमा रहेको ६५ दशमलव तीन किलोमिटर फाइबर नेटवर्कमध्ये ३७ दशमलव नौ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएकामा २७ दशमलव चार किलोमिटर मर्मत भइसकेको उहाँले बताउनुभयो।

वायरलाइन नेटवर्कअन्तर्गत रसुवा र नुवाकोटका तीनवटा ओएलटी पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। तीमध्ये अधिकांश पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको तथा केही एफटीटीएच नेटवर्कमा समेत भएको क्षति मर्मत गरिएको मन्त्री डा तिमिल्सिनाले जानकारी दिनुभयो।

टिमुरे र रसुवागढी क्षेत्रमा फाइबर तथा माइक्रोवेभमा क्षति पुगेकामा हाल फाइबरको सट्टा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button