तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन मुख्यमन्त्रीको निर्देशन 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित बागलुङ, म्याग्दी, पर्वत लगायत जिल्लाको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत, उपचार, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ । 

प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षति, सडक, पुल लगायत पूर्वाधारको अवस्था र प्रभावित नागरिकको समस्याबारे स्थानीय तथा जिल्लास्थित सुरक्षा निकायबाट जानकारी लिनुभयो । 

बागलुङ र म्याग्दीमा मुख्यमन्त्री पाण्डेको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो । बैठकमा बाढीपहिरोबाट भएको क्षति, तत्कालीन अवस्था तथा प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने उद्धार, राहत र व्यवस्थापनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट विस्थापित भएर अस्थायी आश्रयमा बसिरहेका नागरिकसँग भेट गरी उनीहरूको खाद्यान्न, स्वास्थ्य, आवास तथा अन्य आधारभूत आवश्यकताबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो । 

बाढीपहिरोका कारण गण्डकी प्रदेशमा २० जनाभन्दा बढीको मृत्यु भएको छ भने केही नागरिक अझै बेपत्ता छन् । प्रदेश सरकारले विपद्मा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई काजकिरिया खर्चबापत थप २५ हजार रुपैयाँ र घाइतेलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि भोटेकोशी बाढी प्रभावितलाई पनि प्रदेश सरकारले यस्तै प्रकृतिको सहयोग उपलब्ध गराएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button