तपाईँ सुन्दै हुनुहुन्छः

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०८३ प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो । 

बैठकमा विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेश प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो ।

मन्त्री मेहताले सुरक्षित, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन, चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँचको विस्तार तथा हाल सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि ऐनहरूमा एकरुपता कायम गर्न पनि यस विधेयकले महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले मधेश प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य शिक्षाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै विधेयकले मधेश प्रदेशका नागरिकलाई काठमाडौँ आउन नपर्ने गरी आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा र स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सांसदहरुले बताउनुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक आजै १५ मिनेट पछि बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button