अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबिच दोहामा भेटवार्ता
काठमाडौँ। एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।

कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री डा. वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउलाई आग्रह गर्नुभयो ।
भेटका क्रममा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । उहाँले विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अध्यक्ष जोउले बैंकले ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने बताउनुभयो । साथै, ‘स्पेसलाइज्ड फन्ड विन्डो’अन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उहाँले व्यक्त गर्नुभयो । एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालसँग आर्थिक विकासमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत उहाँले दोहोर्याउनुभयो ।
सो अवसरमा अर्थमन्त्री वाग्लेले नवनिर्वाचित अध्यक्ष जोउलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले एआईआईबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो । साथै, बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
अर्थमन्त्री डा. वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायका स्रोतसमेत परिचालन गरिदिन आग्रह गर्नुभयो । छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनुभयो







प्रतिक्रिया राख्नुहोस्