हिउँमा परेर हुम्लाका एक जनाको मृत्यु
सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२, स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडीबुटी सङ्कलन गरिरहेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन् ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुको सङ्कलन गर्न हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिनुभयो । यसैबीच हुम्लाको अदानचुली गाउँपालिका ३ श्री नगरमा पहिरोबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका दैलेखका बखत खड्कालाई उपचारका लागि हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।
स्वास्थ्यकर्मी महेन्द्र थापाका अनुसार खड्कालाई आइतबार बिहान करिब ३ बजे पहिरोबाट खसेको ढुङ्गाले लागेपछि श्रीनगर स्वास्थ्य चौकी पुर्याइएको थियो । उहाँको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको अनुरोधमा गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरबाट घाइतेलाई हुम्लाको श्री नगरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।








प्रतिक्रिया राख्नुहोस्