तपाईँ सुन्दै हुनुहुन्छः

मुख्य सडक अवरुद्ध भएपछि पुनः त्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

हेटौँडा । अविरल वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य सडक अवरुद्ध भएपछि राजधानी आवतजावतका लागि त्रिभुवन राजपथ फेरि प्रमुख वैकल्पिक मार्ग बनेको छ । 

पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सवारी आवागमनका लागि नयाँ समयतालिका लागू गरेको छ । हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने सवारीलाई छुट्टाछुट्टै समयमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार साँघुरो सडकमा एकै पटक ठूलो सङ्ख्यामा सवारी प्रवेश गर्दा हुनसक्ने जोखिम र जाम कम गर्न समय निर्धारण गरिएको हो । उहाँले सडकको अवस्था बुझेर प्रशासनले जारी गरेको तालिकाअनुसार मात्र यात्रा गर्न चालक, व्यवसायी र यात्रुलाई आग्रह गरिएको बताउनुभयो ।

इन्धन तथा खाना पकाउने एलपी ग्यास बोकेका सवारी बाहेक १० चक्केभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई अर्को व्यवस्था नभएसम्म त्रिभुवन राजपथ प्रयोग गर्न रोक लगाइएको प्रजिअ अधिकारीले बताउनुभयो । उहाँका अनुसार यात्रुवाहक सवारीतर्फ ११ मिटर लम्बाइसम्मका सवारीलाई मात्रै सञ्चालन गर्न दिइएको छ ।

काठमाडौँ जोड्ने अन्य सडक प्रभावित हुँदा त्रिभुवन राजपथमा यसअघि पनि सवारीको चाप बढ्ने गरेको थियो । 

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग प्रभावित हुँदा यही सडक लामो समय वैकल्पिक मार्ग बनेको थियो ।

कुलेखानी जलाशयको पानीको सतह बढ्दै गएपछि प्रशासनले आज साँझदेखि देउराली–सिस्नेरी सडकखण्डमा सवारी आवागमन बन्द गरेको छ । यससँगै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको अर्को वैकल्पिक मार्गसमेत बन्द भएपछि त्रिभुवन राजपथमा निर्भरता थप बढेको प्रजिअ अधिकारीले बताउनुभयो । प्रशासनले अत्यावश्यक यात्राका क्रममा त्रिभुवन राजपथका लागि जारी गरिएको समयतालिका पालना गर्न आग्रह गरेको छ ।

काठमाडौँलाई तराईसँग जोड्ने पुराना सडक मार्गमध्ये पर्ने त्रिभुवन राजपथ भारतको सहयोगमा सन् १९५० को दशकमा निर्माण गरिएको थियो । साँघुरा घुम्ती, पुरानो सडक संरचना र जोखिमयुक्त भूभागका कारण सामान्य अवस्थामा अन्य मार्गको तुलनामा कम प्रयोग हुने यो सडक मुख्य मार्ग अवरुद्ध हुनेबित्तिकै राजधानीको वैकल्पिक सडक सम्पर्कका रूपमा प्रयोग हुँदै आएको छ ।

पटक पटक विपद्का बेला यही सडकमा निर्भर हुनुपर्ने अवस्था आए पनि यसको विस्तार, जोखिमयुक्त घुम्ती सुधार र दीर्घकालीन स्तरोन्नतिको विषय भने अझै चुनौतीका रूपमा रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button