एसियाली खेलकुद क्रिकेट: नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा आज भएको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो । नेपालका सन्दीप जोराले ३४, रोहित पौडेलले नटआउट ३३ रन बनाए । अफगानिस्तानका फरिदुन दाउदजई, अब्दुल्ला अहमदजाई र अरब गुलले १र१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनायो । अफगानिस्तानका फैसल खान अहमदजई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए । नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।
प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो । अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई ४८ रनले हराएको थियो ।
समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान रहेका छन् । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा पुग्ने टोलीले भारत वा श्रीलङ्कामध्ये एक टोलीसँग खेल्नेछ ।
एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तानबिच १२ वर्षपछि फेरि भेट भएको हो । सन् २०१४ मा दक्षिण कोरियाको इनचोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्