तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु संकट नेपालले सिर्जना गरेको होइन, ठूलो मूल्य चुकाइरहेको छ : प्रधानमन्त्री शाह

भोटेकोशी–त्रिशूली विपद् विश्वका लागि चेतावनी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनबाट सिर्जित संकटको सबैभन्दा ठूलो असर कम कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले भोगिरहेको बताउनुभएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् स्थानीय त्रासदीमा मात्र सीमित नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो।

जलवायु परिवर्तनले कुनै सीमा नचिन्ने उल्लेख गर्दै उहाँले हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा नगर्ने बताउनुभयो।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान शून्य दशमलव एक प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले जलवायु संकट सिर्जना नगरे पनि त्यसको ठूलो मूल्य चुकाइरहेको बताउनुभयो।

जलवायु न्याय संयुक्त राष्ट्रसंघका दस्तावेजमा लेखिएको शब्दमा मात्र सीमित हुन नहुने बताउँदै उहाँले जलवायु विपद्बाट प्रभावित जनतालाई बारम्बार विगत पुनर्निर्माण गरिरहनुको सट्टा आफ्नो भविष्य निर्माण गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री शाहले हिमालय पृथ्वीको कुनै किनारामा रहेको क्षेत्र नभई पृथ्वीको जीवन–समर्थन प्रणालीको हिस्सा भएको बताउनुभयो। उहाँले हिमालयलाई खण्डित सूचनाको सीमाना नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने धारणा राख्नुभयो।

विपद्का बेला तत्काल सहयोग आवश्यक हुने उल्लेख गर्दै उहाँले घरमा आगो लागेको बेला परिवारलाई धेरैवटा फाराम भर्न लगाएर बस्न नसकिने बताउनुभयो। विपद्का समयमा राहत, पुनर्स्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलतालाई पनि प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

विश्वले युद्धका लागि प्रभावकारी आपूर्ति प्रणाली निर्माण गरे पनि खाद्यान्नका लागि कमजोर आपूर्ति प्रणाली रहेको प्रधानमन्त्री शाहले बताउनुभयो। उहाँले भुक्तानी गर्न तयार रहेका देशले आवश्यक वस्तु खरिद गर्न सक्ने व्यवस्था सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो।

यदि विश्वले ७२ घण्टाभित्र जहाँसुकै हतियार पुर्‍याउन सक्छ भने किसानलाई सम्मानजनक जीवनयापनका लागि आवश्यक साधन उपलब्ध गराउन नसक्ने कुनै बहाना नरहेको उहाँले बताउनुभयो।

जलवायु संकटसँगै आफूहरूले सुरु नगरेका युद्धहरूको असर पनि नेपालले भोगिरहेको प्रधानमन्त्री शाहले बताउनुभयो।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून् भन्दै विश्व भगवान् बुद्धले देखाउनुभएको शान्ति, करुणा र सहअस्तित्वको बाटोमा अघि बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button