बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक
म्याग्दी । स्थानीय प्रशासनले म्याग्दीका मुख्य दुई वटा सडकमा आजदेखि चार दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला सदरमुकाम बेनीबाट रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी जोड्ने बेनी–दरवाङ सडकमा यही असोज ११ गतेसम्मका लागि यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले भारी वर्षाका कारण हुन सक्ने विपद्को जोखिम र क्षति न्यूनीकरणका लागि दुई वटै सडकमा साँझ ६ः०० देखि भोलिपल्ट बिहान ६ः०० बजेसम्म कुनै पनि यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जानकारी दिनुभयो ।
मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई पनि बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेका छन् । बाढी, पहिरो, कटानका कारण सम्भावित क्षतिलाई आकलन गर्दै धवलागिरि गाउँपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गरेको छ ।
बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले स्थानीय बिदाबाट समायोजन हुने गरी शुक्रबार शैक्षिक संस्था बिदा दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्थानीय तह, सुरक्षा निकाय र समुदाय स्तरमा सतर्कताका साथै पूर्वतयारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनालाई समेत सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ । विपद्को अवस्थामा सडक, विद्युत्, सञ्चारलगायत आधारभूत सुविधामा हुन सक्ने अवरोध हटाउनका लागि बेनी(जोमसोम(कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, छ वटै स्थानीय तह, विद्युत् प्राधिकरण, नेपाल टेलिकम सहितका सेवा प्रदायक निकाय र उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटीलगायत सङ्घसंस्थासँग समन्वय गरिएको प्रजिअ गैरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्