तपाईँ सुन्दै हुनुहुन्छः

मौसमी जोखिममा सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी जोखिम न्यूनीकरणका लागि सरकारले आवश्यक पूर्वतयारी तीव्र पारेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज उहाँले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हुरीको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै पूर्वसावधानी अपनाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री शाहका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठक गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ ।

तीनवटै सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराइरहेका छन् ।

प्रधानमन्त्री शाहले रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ । जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्न निर्देशन दिइएको उहाँले बताउनुभएको छ ।

सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राखी स्काभेटर, लोडर र डोजरलगायतका उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालयलाई चौबिसै घण्टा सक्रिय रहन र सडकको अवस्था नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ ।

यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न तथा होटल व्यवसायी र स्थानीय बासिन्दालाई सुरक्षित बासस्थान र सहयोग उपलब्ध गराउन अनुरोध गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।

सबै ७ सय ५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक गरी आवश्यक पूर्वतयारी गर्न र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न भनिएको छ ।

प्रधानमन्त्री शाहले असोज ९ गते आवश्यकता अनुसार विद्यालयको पठनपाठन स्थगित गर्न तथा तोकिएका परीक्षा पनि आवश्यकताअनुसार स्थगित गर्न निर्देशन दिइएको बताउनुभएको छ । उहाँले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन अभिभावकलाई आग्रह गर्नुभएको छ ।

सबै अस्पताल तथा स्वास्थ्यचौकीलाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखी आकस्मिक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा पर्याप्त मौज्दात कायम राख्न र राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गर्न व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ । कृत्रिम अभाव, कालोबजारी तथा अनुचित मूल्यवृद्धि गर्नेविरुद्ध कडा कारबाही गर्न बजार अनुगमन तीव्र पारिएको उहाँको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभर एसएमएस अलर्ट पठाइएको तथा सञ्चारमाध्यममार्फत मौसमसम्बन्धी सूचना र सावधानीका उपाय नियमित प्रसारण गर्न निर्देशन दिइएको छ ।

प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना आधार मानी सतर्क रहन आग्रह गर्नुभएको छ । आपत्कालीन अवस्थामा हेलो सरकार ११११, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ र स्वास्थ्य हेल्पलाइन १११५ मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभएको छ । मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा डायल गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button