एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, २९ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा असोज ५ गतेदेखि बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
बैठकले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ ।
बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै ११औँ महाधिवेशनपछि मनोनीत हुन बाँकी केन्द्रीय सदस्यसमेत चयन गरेको महासचिव शङ्कर पोखरेलद्वारा बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार बैठकले ईश्वर पोखरेल (काठमाडौँ), प्रदीप ज्ञवाली (गुल्मी), काशिनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्बाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी)लाई स्थायी कमिटीमा मनोनयन गरेको भने विभिन्न जिल्लाबाट २९ जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
पार्टीमा समायोजन भएका विभिन्न समूहबाट १३ जनालाई केन्द्रीय सदस्य बनाइएको महासचिव पोखरेलले बताउनुभयो ।
मनोनीत हुने केन्द्रीय कमिटी सदस्यमा काशिनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), हरि रिजाल (प्युठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्युठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौँ), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरुङ (मनाङ), डा प्रेम दङ्गाल (काठमाडौँ), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौँ), पुष्पराज श्रेष्ठ (सिन्धुली), विमला घिमिरे (कपिलवस्तु), डा शिवमाया तुम्बाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) रहनुभएको छ ।
यसैगरी, पार्टीमा समायोजन भएकामध्येबाट केन्द्रीय सदस्य मनोनयन हुनेमा मोहम्मद इस्तियाक राई (बाँके), प्रदीप यादव (पर्सा), अब्दुल हुसैन अंसारी (सुनसरी), डिबी कार्की (स्याङजा), भवानी खापुङ (तेह्रथुम), दीपक साउद (अछाम), जय गोले तामाङ (काठमाडौँ), धर्मराज निरौला (सुनसरी), रवि चामलिङ (खोटाङ), विनोद पहाडी (रुपन्देही), श्रीप्रसाद शर्मा (बागलुङ), रामप्रित राम (सिराह) र ध्रुव विष्ट (भक्तपुर) रहनुभएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्यूरो गठन गर्ने तथा सल्लाहकार परिषद्, विभाग र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने अधिकार बैठकले सचिवालयलाई दिएको छ ।
बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको यथार्थ विवरण सार्वजनिक गर्न तथा विस्थापितको तत्काल पुनःस्थापना र क्षतिग्रस्त सडक, पुल तथा बस्तीको पुनर्निर्माण अघि बढाउन माग गरेको छ ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील तथा पर्वतीय मुलुकमा बढ्दै गएको जोखिमप्रति चिन्ता व्यक्त गर्दै एमालेले जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
बैठकले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति आपत्ति जनाउँदै भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ ।
यसैगरी, महँगी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति, कर पुनरावलोकन तथा व्यावसायिक वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकको समापनमा अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकतासहित अघि बढेको बताउनुभयो । उहाँले आगामी दिनमा लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा केन्द्रित हुन पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो ।
यसैबीच, आगामी तीन दिन विभिन्न भूभागमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै एमालेले नागरिकलाई सतर्क रहन, सम्बन्धित निकायका सूचना पालना गर्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्