मधेश प्रदेशका जिल्लामा गए रातिदेखि वर्षा, सुरक्षा निकाय तयारी अवस्थामा
जनकपुरधाम । गए रातिदेखि मधेश प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
अहिलेको हल्का तथा मध्यम वर्षा धानबालीका लागि राम्रो भएपनि भारी तथा अति भारी वर्षा भएको खण्डमा त्यसपछि आउने बाढी, पहिलो तथा डुबानप्रति मधेश प्रदेशका सुरक्षा निकाय हाईएलर्टमा बस्नुका साथै नदी तथा तटीय क्षेत्रका नागरिकहरूलाई सचेत बनाइएको छ ।
मधेश प्रदेशका ठूला नदी क्षेत्रमा बस्ती भएका नागरिकलाई ९ गतेबाट हुनसक्ने भारी तथा अति भारी वर्षाप्रति सचेत बनाउँदै ती बस्तीहरूमा माईकिङ्ग गर्ने तथा अन्य माध्यमले सूचना प्रवाह गर्ने काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेशमा ठूला नदीको रुपमा बागमती, कमला, लालवकैया, खाडो सहितका रहेका छन् भने ६ सय जति खहरे खोलाहरू रहेका गृहमन्त्रालयले जानकारी दिइएको छ । चुरे विनाशका कारणले नदीका सतह माथि उठेकाले थोरै वर्षा र बाढीमा नदीको पानी बस्तीमा पस्ने जोखिम रहेको खोला किनारका बस्तीलाई विशेष रुपमा सजग बनाइएको छ ।
उता भोली शुक्रबार ९ गतेबाट ११ गतेसम्म हुने भनिएको भारी तथा अति भारी वर्षापछि आउने सम्भावित प्राकृतिक विपद्को सामना गर्नका लागि प्रदेश सरकारले सबै प्रकारको तयारी गरेको मधेश प्रदेश विपद् व्यवस्थापन समितिले जनाएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा चारै सुरक्षा निकायको सहभागितामा भएको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकमा भारी वर्षापछि आउने बाढी, पहिरो तथा डुबानको सामना गर्नका लागि सबै प्रकारको तयारी प्रदेश सरकारले गरेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जानकारी दिनुभयो ।
उहाँले सम्भावित विपद्को सामनाका लागि प्रदेश सरकारले चारै सुरक्षा निकायको सहयोगमा सबै प्रकारको तयारी गरेको बताउँदै सुरक्षा निकायलाई आवश्यक साधन श्रोतसहित हाईएलर्ट राखिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्