तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको पूर्ण कार्यान्वयन र सहकार्यबाट निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताउनुभएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताउनुभयो।

उहाँले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको उल्लेख गर्दै यसको उपलब्धिको संरक्षणसँगै पूर्ण कार्यान्वयनमा जोड दिनुभएको छ। संविधानको मर्मअनुसार अघि बढ्न राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोधलाई थप सुदृढ गर्नुपर्ने उहाँको भनाइ छ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, संघीयताको सुदृढीकरण र नागरिककेन्द्रित सेवा प्रवाहका लागि प्रतिबद्ध रहेको बताउनुभयो। सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिँदै नागरिकलाई सहज र प्रभावकारी सेवा दिन सरकार केन्द्रित रहेको उहाँले उल्लेख गर्नुभयो।

प्रदेश सरकारले पूर्वाधार विकाससँगै कृषि, उद्यमशीलता, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र नवप्रवर्तनलाई प्राथमिकताका साथ अघि बढाएको पनि उहाँले बताउनुभयो।

‘संघीयता बलियो बनाउन प्रदेश बलियो हुनुपर्छ’ भन्दै मुख्यमन्त्री आचार्यले संविधानले प्रदेशलाई दिएका अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्रदेशलाई सक्षम, उत्तरदायी र नागरिकको नजिकको सरकारका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले संविधान दिवसका अवसरमा लोकतान्त्रिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा अपाङ्ग नागरिक, शहीद परिवार र बेपत्ता नागरिकका परिवारप्रति सम्मान व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री आचार्यले संविधान दिवसले राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोधलाई थप सुदृढ गर्दै संविधानको मर्मअनुसार अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button