तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परी सर्लाहीमा एकै दिन ५ जनाको मृत्यु 

सर्लाही । सर्लाहीमा एकैदिन ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मङ्गलवार भएका बेग्लाबेग्लै दुर्घटनामा परि सर्लाहीको बरहथवा, गोडैता, बागमती र कबिलासी क्षेत्रमा भएका घटनामा पाँच जनाको मृत्यु भएको हो।

बागमती नगरपालिका–४ गोले टोलस्थित च्याउ फ्याक्ट्री क्षेत्रमा मङ्गलवार साँझ चट्याङ पर्दा १२ वर्षीया दिना मोक्तानको मृत्यु भएको छ। करिब साँझ ५ः३० बजे परेको चट्याङबाट घाइते भएकी दिनालाई उपचारका लागि बागमती मोडल अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ ६ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सोही घटनामा ११ वर्षीया प्रितिमा बोम्जन र ४२ वर्षीय पोसाकबहादुर वाइबा घाइते भएका छन्। प्रितिमाको शरीरको भित्री भागमा चोट लाग्नुका साथै शरीरमा कालो दाग देखिएको थियो। उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि साँझ ६ः४३ बजे वीरगञ्जस्थित अस्पतालमा रिफर गरिएको छ। पोशाक बहादुरको सभ्यता हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। उनको दुवै कान नसुन्ने अवस्था रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलंगवा–नवलपुर सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। साँझ करिब ५ः५० बजे कबिलासीबाट गैरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा बिआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका – ८ का २६ वर्षीय पप्पु पासवान र अर्को मोटरसाइकलका चालक गोडैता नगरपालिका – ६ का ३० वर्षीय सुमित यादव घाइते भएका थिए। दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा सुरेन्द्र पासवान र बब्लु कुमार पासवान घाइते भएका छन्। दुवैलाई प्रादेशिक अस्पताल मलंगवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ रिफर गरिएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

बरहथवा नगरपालिका–३ सानो खुरखोटीमा घरको भर्‍याङबाट लडेर ४० वर्षीया सुनिता माझीको मृत्यु भएको छ। मङ्गलवार बिहान करिब २ः३० बजे आफ्नो काठ र टालिले छाएको एकतले कच्ची घरको भर्‍याङ चढ्ने क्रममा उनी लडेकी थिइन्। भर्‍याङबाट खस्दा टाउकोमा चोट लागेपछि उनलाई बरहथवा नगर अस्पतालमा सामान्य उपचार गराइएको थियो।

त्यसपछि थप उपचारका लागि बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई मृत घोषणा गरेका थिए। मृतकका आफन्तले पुनः जाँचका लागि बिहान नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। त्यहाँ बिहान ८ः०५ बजे ईसीजी गर्दा पनि उनको मृत्यु भइसकेको पुष्टि भएको थियो।

यस्तै, गोडैता नगरपालिका–५ रामवनस्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा ६५ वर्षीया शान्ती देवी महतोको मृत्यु भएको छ। दिउँसो करिब १ बजे बरहथवाबाट रामवनतर्फ जाँदै गरेको प्रदेश २–०३–००१७ प ७१३५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार शान्ती देवी घाइते भएकी थिइन्।

उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएकी उनको दिउँसो ३ः५८ बजे ईसीजी परीक्षणका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ४० वर्षीय गुड्डु सिंह घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसरी मङ्गलवार सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button