मिथिलामा चौरचन पर्व धुमधामका साथ मनाइँदै
जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा आज चौरचन पर्व श्रद्धाभक्तिपूर्वक पूजा अर्चना गरि मनाईदैछ ।

यस पर्वमा मानव सहित सम्पूर्ण चराचर जीव जन्तु तथा वनस्पतिलाई प्रत्यक्ष रुपमा शीतलता प्रदान गर्ने चन्द्रमाको पूजा आराधना गरेर पर्व मनाउने चलन रहेको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष चतुर्थी तिथिका दिन मनाइने चौठी चाँद अर्थात् चौरचन पर्व आज साँझपछि परेकाले मिथिलामा आजका दिनमा चौरचन पर्व मनाउन लागेको पण्डित मदन झाले जानकारी दिनुभयो ।
यस पर्वमा उपवास बसेका महिलाहरूले दिनभरि निराहार बसेर आफैले तयार पारेको पुडिया, खजुर, खाजा सहितका मिष्ठान्न, खीर, पुरी, फलफूल चन्द्र देवलाई अर्पण गरेर आँगन वा छतमा गाईको गोवर वा चोखो बनाएर अरिपण दिई विधिपूर्वक पूजा गरेर चौरुचन पर्व मनाउने चलन रहेको छ ।
यस पर्वमा दहीको विशेष महत्व रहने गरेको छ । नयाँ माटाका भाडामा दही जमाउने र दही, फलफूल सहित अन्य मिष्ठान्न राखिएका भाडालाई परिवारका हरेक सदस्यले एक एक गरेर उचाली भगवान् चन्द्रमाको दर्शन गर्ने चलन रहेको छ । भगवान् गणेश र चन्द्रमाको कथासँग जोडिएको यो पर्वका दिन फलफूल सहितका सामाग्रीहरू लिएर चन्द्रमाको दर्शन गरेको खण्डमा सबै प्रकारका मिथ्या आरोपबाट मुक्ति मिल्ने धर्मशास्त्रमा उल्लेख रहेको छ ।
चन्द्रमाले गणेशको रूप देखेर हाँसेको आक्रोशमा विघ्नहर्ता भगवान् गणेशले चन्द्रमालाई धब्बा लाग्ने श्राप दिनु भएको र पछि चन्द्रमाले गणेशको आराधना गरेपछि आजको दिनमा प्राणीले पूजा गरेको खण्डमा श्रापबाट मुक्ति पाउने बचन दिनु भएको थियो । सोही धार्मिक विश्वास सहित आजको दिनमा चन्द्रमाको मानवले विशेष रुपमा पूजा गर्ने चलन रहेको छ ।
पूजापछि व्रतीले प्रसादको रुपमा वितरण गरेर आफै पनि खाने चलन रहेको छ । यसका साथै कोसेलीका रुपमा इष्टमित्र तथा आफन्तलाई वितरण गर्ने चलन रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्