तपाईँ सुन्दै हुनुहुन्छः

सघन उपचार कक्षभित्र अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलद्वारा मेडिकल काउन्सिललाई पत्राचार

काठमाडौँ । अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ।

काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग ‘इनसाइड द बङ्कर’ नामक युट्युब च्यानलले लिएको अन्तर्वार्तासहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ।

File Photo

त्यस्तै, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको अवस्थामा बिबिसी नेपालीले असार २१ गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ।

प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराका अनुसार सघन उपचार कक्ष सामान्य अन्तर्वार्ता गर्ने स्थान नभएकाले त्यहाँ उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति, मानवीय मर्यादा र उपचार प्रक्रियामा पर्न सक्ने असरलाई गम्भीर रूपमा विचार गर्न आवश्यक हुन्छ।

काउन्सिलले प्रसारित सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ।

यस विषयमा सम्बन्धित अस्पतालहरूलाई अस्पताल प्रशासन, बिरामी र बिरामीको परिवारको अनुमति लिई सम्बन्धित सञ्चारकर्मीले अन्तर्वार्ता लिएको हो, होइन भनेर जानकारी दिन पत्राचार गरिएको छ। त्यसैगरी काउन्सिलले नेपाल मेडिकल काउन्सिललाई समेत आइसियुमा सञ्चारकर्मीको प्रवेश अनुमति हुने नहुने विषयमा जानकारी दिनका लागि पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

अध्ययनपछि आवश्यक देखिए पत्रकार आचारसंहिताअनुसार थप प्रक्रिया अघि बढाइने काउन्सिलको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button