क्षतिग्रस्त सडक सञ्जाललाई असोजभित्रै सञ्चालनमा ल्याउने सरकारको तयारी
काठमाडौँ । सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडकहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सडक र पुलको निर्माण गर्नेछ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विभिन्न विषयगत आठ वटा कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई तीव्रता दिइरहेको बताउनुभयो। साथै, उहाँले यो काममा दोहोरोपना हुन नदिई आफूहरूलाई प्रत्यक्ष रुपमा सघाउन स्थानीय जनप्रतिनिधिहरुसँग आग्रह समेत गर्नुभयो।
यस्तै, उहाँले प्रधानमन्त्री शाहसँग छलफल गर्न आएकै बेलामा काठमाडौँमै रहेर आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखहरूसँग प्रत्यक्ष छलफलमा जोडिएर आ–आफ्नो प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारहरूको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय गर्न र त्यसको फलोअप गर्न स्थानीय जनप्रतिनिधिहरुसँग आग्रह गर्नुभएको छ।
उहाँका अनुसार प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गर्ने गरी सरकारले काम गरिरहेको छ। त्यस्तै प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो।
छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा पुगेर गैर सरकारी संस्थाहरूले बाढी प्रभावितहरूलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकालाई संरक्षण गरिदिने जस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताउनुभयो। साथै, उहाँले जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रका कुनै पनि पीडित नछुट्ने गरी तथ्याङ्क सङ्कलन गरी सरकारलाई समयमै उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्