संरक्षण र रेखदेखको अभावमा कान्तिताल जीर्ण बन्दै
बाँके।नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षण र नियमित रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ।
पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानी गरिएको ताल क्षेत्रमा अहिले झाडी तथा बुट्यान फैलिएका छन् भने निर्माण गरिएका संरचनासमेत जीर्ण बन्दै गएका छन्।
नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनासहित विसं २०७५ मा ताललाई व्यवस्थित गर्ने काम अघि बढाइएको थियो। उपमहानगरपालिकाले ताल संरक्षण तथा पूर्वाधार निर्माणमा रु १० करोड खर्च गरे पनि पछिल्लो समय नियमित सरसफाइ, संरक्षण र रेखदेखको अभावमा तालको सौन्दर्य घट्दै गएको स्थानीयको गुनासो छ।
ताल वरिपरि निर्माण गरिएका रेलिङ भत्किन थालेका छन्। झाडी तथा बुट्यान बढ्दै जाँदा ताल क्षेत्रसमेत कुरुप देखिन थालेको स्थानीय बताउँछन्।
स्थानीय राहिल किघारियाले पर्यटकीयस्थलका रूपमा विकास गर्न ठूलो रकम खर्चिए पनि संरक्षणमा पर्याप्त ध्यान नदिँदा लगानीको प्रतिफल देखिन नसकेको बताउनुभयो।
उहाँले सौन्दर्य अभिवृद्धिका लागि निर्माण गरिएका रेलिङ भत्किएको र ताल क्षेत्रको सुरक्षाका विषयमा सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो।
स्थानीयका अनुसार ताल क्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानसमेत रहेकाले यसको संरक्षण जैविक विविधता र पर्यावरणीय दृष्टिले महत्वपूर्ण छ। संरक्षणकर्मी तथा वातावरणप्रेमीले तालको प्राकृतिक स्वरूप जोगाउन माग गर्दै आए पनि प्रभावकारी संरक्षण हुन नसकेको बताएका छन्।
ताल क्षेत्रमा रातको समयमा शङ्कास्पद गतिविधि हुने तथा लागुऔषध प्रयोगकर्ताको जमघटसमेत हुने गरेको स्थानीयको गुनासो छ। यसले तालको संरक्षणसँगै स्थानीयको सुरक्षा र पर्यटकीय वातावरणमा समेत असर परेको उनीहरूको भनाइ छ।
कान्तिताल सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक रु २८ लाख राजस्व बुझाउने गरी ठेक्का लिएका फनबहादुर गुरुङले ताल क्षेत्रका रेलिङ लागुऔषध प्रयोगकर्ताबाट तोडफोड भएको हुनसक्ने बताउनुभयो।
उहाँले रेलिङ कसरी र कसले तोडफोड गरेको हो भन्ने विषयमा वास्तविकता खोजी गरिने र ताल क्षेत्रको संरक्षण तथा सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय आवश्यक रहेको बताउनुभयो।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित र आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्न नयाँ योजना बनाउने तयारी भइरहेको बताउनुभयो।
विगतमा ताल संरक्षण तथा व्यवस्थापनका लागि बनाइएका योजना अपेक्षित रूपमा सफल हुन नसकेकाले अब सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी प्रभावकारी योजना निर्माण गरिने उहाँको भनाइ छ।
कान्तिताल नेपालगञ्जको पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण क्षेत्र मानिन्छ। प्राकृतिक सौन्दर्यसँगै विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेकाले यसको संरक्षण गर्न सके पर्यावरणीय तथा पर्यटनका दृष्टिले महत्व अझ बढ्ने देखिन्छ।
स्थानीयवासीले तालमा गरिएको करोडौँ रुपैयाँको लगानी जोगाउन तत्काल सरसफाइ, भत्किएका संरचनाको मर्मत, सुरक्षा व्यवस्था र नियमित रेखदेखको व्यवस्था गर्न माग गरेका छन्।
पर्यटकीय पूर्वाधार निर्माण गरेर मात्र गन्तव्यको विकास नहुने भएकाले त्यसको नियमित संरक्षण, व्यवस्थापन र सुरक्षा पनि उत्तिकै आवश्यक देखिन्छ। दीर्घकालीन संरक्षण योजना, नियमित सरसफाइ र प्रभावकारी व्यवस्थापन गर्न सके कान्तिताललाई पुनः आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ।








प्रतिक्रिया राख्नुहोस्