तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा रैथाने बाली लोपोन्मुख अवस्थामा

बाजुरा।बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा खेती हुँदै आएका कागुनो, झुमरो र फापरलगायत रैथाने अन्नबाली लोपोन्मुख अवस्थामा पुगेका छन्।

पोषिलो, औषधीय गुणयुक्त र अर्गानिक खाद्यका रूपमा परिचित रैथाने बालीको खेती पछिल्लो समय घट्दै गएको स्थानीयको भनाइ छ। देशका ठूला सहरमा रैथाने कृषि उपजको माग बढिरहेको भए पनि गाउँमा खेती गर्न छाडिएसँगै उत्पादन भने निरन्तर घटिरहेको छ।

कुनै समय बाजुराका अधिकांश गाउँमा प्रशस्त उत्पादन हुने कागुनो, झुमरो, फापर, उवा र मार्सेलगायत रैथाने बाली अहिले फाट्टफुट्ट मात्र देखिने गरेको मार्तडीका होटल व्यवसायी दीपक साउँदले बताउनुभयो।

रैथाने उत्पादन घटेसँगै बजारमा त्यसबाट बनेका परिकारसमेत पाउन कठिन हुन थालेका छन्।

कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार कागुनो, झुमरो, फापर र चिनुजस्ता परम्परागत अन्नबालीको बजार माग उच्च भए पनि उत्पादन घट्दै जाँदा लोप हुने जोखिम बढेको छ।

परम्परागत खेती संरक्षणका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिए पनि कृषकको आकर्षण बढाउन नसकिएको उहाँले बताउनुभयो। उत्पादन वृद्धि र संरक्षणका लागि थप प्रभावकारी कार्यक्रम ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ।

विशेषज्ञहरूका अनुसार रैथाने अन्नबाली पोषणयुक्त, औषधीय गुणले भरिपूर्ण हुनुका साथै जलवायु अनुकूल खेतीका रूपमा समेत महत्वपूर्ण छन्। तर युवा पुस्ताको खेतीप्रतिको घट्दो रुचि, वैकल्पिक आम्दानीका अवसर र सरकारी सहयोग प्रभावकारी नहुँदा यस्ता बालीको उत्पादन घट्दै गएको हो।

स्थानीय तह र सम्बन्धित निकायले समयमै संरक्षणमा ध्यान नदिए कागुनो, झुमरो र फापरलगायत मौलिक पहिचान बोकेका रैथाने अन्नबाली पूर्ण रूपमा लोप हुने जोखिम बढेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button