बाँकेमा फरार बालबन्दी तथा कैदी अझै सम्पर्कविहीन
बाँके ।बाँकेमा जेनजी आन्दोलनका क्रममा दुई बालसुधारगृह र एक कारागारबाट भागेका तीन सय ४० बालबन्दी तथा कैदीमध्ये एक सय ६९ जना अझै सम्पर्कविहीन छन्।
उनीहरू भागेको एक वर्ष पूरा भए पनि सुरक्षा निकायले सबैलाई नियन्त्रणमा लिन सकेको छैन।
गत वर्ष भदौ २३ र २४ गते आन्दोलनका क्रममा नौबस्ता र जयन्दु बालसुधारगृह तथा नौबस्ता क्षेत्रीय कारागारबाट तीन सय ४० जना भागेका थिए। तीमध्ये हालसम्म एक सय ७१ जना पक्राउ परेका छन्।
जयन्दु बालसुधारगृहबाट भागेका एक सय १५ जनामध्ये ६८ जना पक्राउ परेका छन् भने ४७ जना अझै सम्पर्कविहीन छन्।
यस्तै, नौबस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना पक्राउ परेका छन्। ३१ जनाको खोजी भइरहेको छ। आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा पाँच बालबन्दीको मृत्यु भएको सुधारगृहले जनाएको छ।
नौबस्ता क्षेत्रीय कारागारबाट सबैभन्दा धेरै, एक सय ४७ जना कैदी भागेका थिए। तीमध्ये ५६ जना पक्राउ परेका छन् भने ९१ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये १८ जना विदेशी नागरिक रहेको कारागार प्रशासनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरारमध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ भने बाँकीको खोजी भइरहेको छ। केही भारततर्फ गएको हुनसक्ने प्रहरीको अनुमान छ।
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानका कारागार तथा बालसुधारगृहबाट कैदीबन्दी भागेका थिए। नेपालगन्जस्थित जिल्ला कारागारबाट भने भाग्ने प्रयास असफल भएको थियो।
एक वर्षपछि पनि बाँकेबाट फरार भएका एक सय ६९ जना सम्पर्कविहीन रहनुले उनीहरूको अवस्था र सुरक्षा व्यवस्थाबारे प्रश्न कायमै रहेको छ।








प्रतिक्रिया राख्नुहोस्