लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीको बिदाइ, प्रशासनिक सुधारमा खेलेको भूमिकाको प्रशंसा

दाङ । लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको निर्वाचन आयोगमा सरुवा भएपछि प्रदेश सरकारले उहाँको बिदाइ गरेको छ ।
गत मङ्सिर १ गते लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नुभएका काप्रीले ९ महिना २६ दिन प्रदेशको प्रशासनिक नेतृत्व गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले काप्रीलाई मायाको चिनो प्रदान गर्दै बिदाइ गर्नुभएको हो ।
बिदाइ कार्यक्रममा मुख्यमन्त्री आचार्यले काप्रीले प्रदेशमा केही नयाँ कामको थालनी र प्रशासनिक सुधारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यो अवधिमा प्रशासनिक सुधारका क्षेत्रमा उहाँले महत्वपूर्ण काम गर्नुभएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन समन्वय र सहकार्यको माध्यमलाई प्राथमिकता दिइएको भन्दै मुख्यमन्त्री आचार्यले प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वबीचको सहकार्यले सरकारका कामलाई परिणाममुखी बनाउन सहयोग पुगेको बताउनुभयो ।
काप्रीले आफ्नो कार्यकालमा मन्त्रालयको संख्या घटाउने, सरकारी खर्चमा मितव्ययिता कायम गर्ने तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा काम गरिएको बताउनुभयो । लुम्बिनी प्रदेशले सुशासनको क्षेत्रमा अनुकरणीय काम गरेको उहाँको भनाइ थियो ।
‘कानुनमा रहेर काम गर्नुपर्छ र त्यसबाट नतिजा निकाल्नुपर्छ’ भन्ने मान्यताका साथ आफूले जिम्मेवारी पूरा गरेको काप्रीले बताउनुभयो ।
काप्रीले आफूले शिक्षकबाट सेवा जीवन सुरु गरेको र विद्यालय निरीक्षक पदबाट सरकारी सेवामा प्रवेश गरेको बताउनुभयो । बिदाइ कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्री, प्रदेश सरकारका सचिव, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्